हुलाकी राजमार्गको निर्माणाधीन पुल अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन

मिति: २०२३-०७-१९ , समय : २१:३१:१४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । हुलाकी राजमार्गको निर्माणाधीन पुल अलपत्र छोडेर ठेकेदार सम्पर्कविहीन भएका छन् । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने अग्नि साइर कृष्ण संवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोला–१ मा निर्माणाधीन रहेका पुल अलपत्र अवस्थामा छोडेर ठेकेदार विकाश झा सम्पर्कविहीन भएका भएका हुन् ।

लामा बामती निर्माण सेवाले वि.स. २०७१ सालमा निर्माण शुरु गरेको उक्त पुल अझै सम्पन्न नभएपछि यतिबेला सदरमुकाम आउनेजाने हजारौं मानिसहरुको आवतजावत जोखिमपूर्ण बनेको छ । निर्माण सेवाले हालसम्म २ करोड १३ लाख २९ हजार ४ सय ५९ रुपैयाँ भुक्तानी पाइसके पनि निर्माण सम्पन्न गर्न बाँकी रहेको काम ठेकेदारले अलपत्र छोडेका छन् ।

निर्माण कम्पनीको ढिलाइ र आयोजना कार्यान्वयन इकाईको बेवास्ताले गर्दा उक्त पुलको समयमै निर्माण सम्पन्न हुन नसकेको हो । साथै सप्तरी सदरमुकासँंगको जनसम्पर्क पनि टुटेको छ । उक्त पुलको हालसम्म ८१.२३ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव–इन्जिनियर अमरेन्द्र भगतले जानकारी दिए ।

वर्षाको समयमा खोलामा अत्यधिक बाढी आउने गरेकाले आवतजावतमा अवरोध सिर्जना हुने गरेको तिरहुत गाउँपालिका–४ का निवर्तमान वडा अध्यक्ष मनोज कुमार यादवको भनाइ छ । उनका अनुसार लगातार वर्षा भएपछि उक्त खोलाबाट चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडी आउनेजाने क्रम पूर्णरुपमा बन्द भएको छ ।

‘स्थानीयवासीहरुको निरन्तर दबाबले समेत निर्माण कम्पनी र आयोजना कार्यान्वयन गर्ने इकाई गम्भीर भएको छैन । राजविराजबाट जिल्लाको पूर्व जोड्ने तिरहुत गाउँपालिका, कन्चरुप नगरपालिका, सप्तकोसी नगरपालिका र उदयपुर जिल्लासम्मका लाखौं यात्रीले छोटो दुरी प्रयोग गर्ने उक्त बाटोमा अवरोध आएको छ । पटकपटक दबाब दिएपनि एक दशक बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माण कार्य अलपत्र छोडेर ठेकेदार लापत्ता भएपछि स्थानीयहरुले अब सडक संघर्षबाटै दबाब दिनुपर्ने आवश्यकता आएको महसुस हुँदै छ’, उनले भने ।
पुल निर्माणमा ढिलाइ गरेपछि बज्रगुरु निर्माण सेवा जेभीको ठेक्कामा रहेको करिब दुई किलोमिटर सडकको कालोपत्रे पनि अलपत्र भएको स्थानीयको भनाइ छ । डिमनदेखि बनौलीसम्मको सडकमा कालोपत्रे हुन नसकेको हो । उक्त सडक निर्माण कम्पनीले समेत कलिया खोलाको पुल र तिरहुत गाउँपालिका–५ बुधेवाको पुल निर्माण नभएपछि कालोपत्रेमा ढिलाइ भएको बताएका छन् । बर्खायामको बेला खोलामा अत्यधिक पानी आउँदा त्यहाँको बाटो नै बन्द भएपछि दश गाउँबीचको जनसम्पर्क समेत टुटेको स्थानीयको भनाइ छ । त्यस्तै स्कुले छात्रछात्राको पठनपाठनसमेत बन्द भएको स्थानीयले बताए ।

बुधेवास्थित सो पुलको २ करोड भन्दा बढी लागतमा निर्माण शुरु गरिएको डेढ दशक बितिसकेको छ । यद्यपि सो पुल निर्माण सम्पन्न भइसकेको भैरव आश्रया निर्माण सेवा जेभीका ठेकेदार मुकेश कुमार यादवले बताए । आर्थिक वर्ष २०७५/०७६ मा महुली खोलामा आएको बाढीले खोला फुटेर यही पुल भएर बोगेका कारण ढिलाइ भएकै हो । तर अहिले पुललगायत माटो भर्ने कार्य सम्पन्न भइसकेको छ । ग्राभेल हालेपछि कार्य सम्पन्न हुने ठेकेदार यादव बताउँछन् ।

कालिया खोलाको पुल सञ्चालनमा ढिलाइ भएपछि बाटो बन्द गरिएकाले वडा कार्यालयले तत्काल खोलाको बाटोको मर्मत–सम्भार थालेको अग्नि साइर कृष्ण संवरण गाउँपालिका –४ का वडाअध्यक्ष तेजनारायण यादवले बताउँछन् । ‘बाढीले खोला खनिएको अवस्था थियो । तत्काल मेरो पहलमा ८० बोरा सिमेन्ट, चार ट्याक्टर गिट्टी र बालुवासहित पिसिसि ढलान गरिएको छ ।आवतजावत सहज होस् भनेर तत्काल मर्मत गरिए पनि ठेकेदारलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत उजुर गरिसकेको छु’, उनले भने ।

भौतिक प्रगति ८८ प्रतिशत सम्पन्न भएको सो पुलको मूल्य अभिवृद्धि करसहित २ करोड ९६ लाख ३० हजार २ सय ९४ रुपैयाँ ६९ पैसा लागतमा निर्माण थालिएको छ । पुल निर्माण अलपत्र भएपछि आक्रोशित बनेका स्थानीयहरुले कम्पनीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग माग राखेका छन् । पिन्टु यादवले मध्यान्ह देनिकमा लेखेको समाचार हाे ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : २१:३१:१४ , १ वर्ष अगाडि