सप्तरीमा १७ वर्षीया किशोरीलाई घरबाटै लगेर सामूहिक बलात्कार गरेको खुलासा …..
बलात्कार अाराेपमा चार जना पक्राउ, बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान
मिति: २०२३-०७-१९ , समय : ०८:१०:२८ , गामघर डेस्क
मिति: २०२३-०७-१९ , समय : ०८:१०:२८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । कञ्चनरूप नगरपालिका– १२ की १७ वर्षीया किशोरीमाथि चारजनाले सामूहिक बलात्कार गरेका हुन् । शुक्रबार राति सामूहिक बलात्कार भएको उजुरीपछि प्रहरीले स्थानीय ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरेको छ । कैलाश मंगलबार र अन्य तीनजना सोमबार पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार राईले उजुरीअनुसार चारजनालाई पक्राउ गरेर बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताए ।
प्रहरी स्रोतका अनुसार ती किशोरीमाथि बलात्कार गर्न कैलाशले सुदीप, मनोज र दीपेशलाई अराएका थिए । ‘किशोरीलाई राति उनको घरबाटै लगेर छेउको अर्को घर (कोही नबस्ने)मा लगेर बलात्कार गरेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो । आफूमाथि बलात्कार भएको जानकारी ती किशोरीले परिवारलाई दिएपछि प्रहरीमा सोमबार उजुरी परेको थियो ।
पीडित किशोरीको बयान- ‘तिमीलाई सम्झाउनु छ’ भन्दै राति लगेर बलात्कार गरे….
म कक्षा ९ मा पढ्छु । २९ असारमा एकजना केटा साथी भेट्न आएका थिए । एकछिन कुरा गरेर ती साथी घर जान्छु भनेर राति हिँँडे । तर, घरअगाडि कुरेर बसेका चारजनाले मेरो साथीलाई राति भेट्न किन आएको भन्दै कुटपिट गरे । मलाई र मेरो साथीलाई कोठामा लगेर सँगै बसाएर फोटो खिचे । साथीलाई त्यही कोठामा थुनेर बाहिरबाट चुकुल लगाइदिए अनि बहिनीलाई आमासँगै कोठामा पठाए । त्यो कोठामा पनि चुकुल लगाइदिए । चारजनाले ‘तिमीलाई सम्झाउनु छ’ भन्दै राति साढे १० बजेतिर घरभन्दा अलि पर एकजनाको खाली घरमा लगे । बाहिरबाट केटा ल्याएर तिमी सुत्ने, हामीसँग पनि सुत्नुपर्छ भन्दै कुटपिट गरे ।
चारमध्ये एकजनालाई त भाइटीकासमेत लगाउँथेँ । तपाईंहरू मेरो दादा हो भनेँ, तर उनीहरूले लाठीले कुटे । बच्नका लागि महिनावारी भएको बहाना बनाएँ, तर छोडेनन् । ‘तिमी बाहिरको केटा बोलाएर सुत्ने, त्योसँग (मेरो साथी) खिचेको फोटो फेसबुकमा भाइरल गरिदिन्छु’ भन्दै जबर्जस्ती बलात्कार गरे । मैले कुनै गल्ती गरेको छैन, यदि गल्ती गरेको भए सबैजनाको अगाडि दण्ड दिँदा हुन्छ भन्दा पनि मानेनन् । राति ३ बजेतिर मलाई घरमा ल्याएर छाडे । मेरो साथीलाई पुनः कुट्दै भगाए ।
भोलिपल्ट बुबा घरमा आउँदा ती केटाहरूले नै ‘तेरो छोरीले बाहिरको केटा ल्याएर गलत गरेको’ भनेर आरोप लगाए । मैले बुबालाई सबै कुरा बताएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा सोमबार निवेदन दिएका हौँ । दोषी सबैलाई कारबाही हुनुपर्छ । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०७-१९ , समय : ०८:१०:२८ , १ वर्ष अगाडि