प्रतिनिधिसभा बैठक अहिले पनि चल्दै, मिटरब्याजसम्बन्धी विधेयकमाथि छलफल हुँदै

मिति: २०२३-०७-१६ , समय : २१:२७:०० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । प्रतिनिधिसभाको बैठक अहिले पनि चलिरहेको छ । बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकमाथि छलफल भइरहेको छ ।

आज आइतवारकाे संसद् बैठकअघि दलहरूबीच भएको छलफलले प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आज नै पारित गर्ने निर्णय गरेको छ । मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनेको र त्यसलाई संसदबाट पारित गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । तर जनता समाजवादी पार्टी (जसपा) का सांसदहरूले भने मिटरब्याजसम्बन्धी विधेयकलाई जस्ताको त्यस्तै पारित गर्न नहुने भन्दै विरोध गरेको छ ।

मिटरब्याजसम्बन्धी कानुनी व्यवस्था गर्नका लागि सरकारले अध्यादेश ल्याएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयक असार २० गतेभित्र पारित गरिसक्नुपर्नेमा नेकपा एमालेको संसद् अवरोधका कारण विधेयक निष्क्रिय बनेको थियो । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको छ । अब दफावार छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले विधेयक अघि बढाउनेबारेको प्रक्रिया नबुझ्दा केही समय संसदमा अवराेध गरेका थिए । तर सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेर सम्झाइबुझाइ गरेपछि संसद् पुनः चलेको थियो । उज्यालो अनलाइन

प्रकाशित मिति: २०२३-०७-१६ , समय : २१:२७:०० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित