मधेस प्रदेशमा मिटर ब्याज पीडितको समस्या समाधान हुँदै….

मिति: २०२३-०७-०५ , समय : ०६:१९:२८ , अजय कुमार झा

तस्बिर : सामाजिक सन्जालबाट

अजय कुमार झा

जनकपुरधाम । मधेस प्रदेशको धनुषामा मिटर ब्याज (अनुचित लेनदेन) पीडित तथा साहुका बीचमा धमाधम सहमति हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले लिने र दिने दुवै पक्षलाई राखेर मिटर ब्याज हेर्ने शाखामा सहमति गराएपछि मिटर ब्याज पीडितको समस्या समाधान हुँदै जान थालेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी काशीराज दहाल आफैले चासो लिएर हेर्दै आउनुभएका कारणले धनुषमा नयाँ निवेदन दर्ता भएका मध्ये ९२ वटामा दुवै पक्षका बीचमा मिलापत्र भएको छ ।

यसअघि पुराना निवेदन मध्ये १६७ वटामा सहमति भएको थियो भने ५९ वटा निवेदनमा छलफल भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी दहालले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा मिटर ब्याजको २ हजार ६ सय १५ वटा निवेदन परेको छ । यस्तै अवस्था रहेको खण्डमा सबै निवेदनहरूमाथि छलफल गरेर टुङ्गो लगाउनमा १ वर्ष लाग्ने अवस्था रहेको छ ।

मिटर व्याज पीडितको समस्या समाधान गर्नका लागि गठन गरिएको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएका कारणले पनि धनुषामा पीडितको सुनुवाई भइरहेको छ ।

कतिपय अवस्थामा मिटर ब्याज पीडितसँगै रकम दिनेहरू पनि पीडित देखिएकाले त्यसमा दुवै पक्ष तथा छरछिमेकीहरुलाई राखेर समस्याको निकास गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धि अध्यादेश आएका कारणले पुराना कागजहरू बदर हुने डरका कारणले व्याजमा रकम दिनेहरू मिल्न थालेका छन् भने मिटर ब्याजका निवेदन दिएकाले रकम दिँदा साहुसँग भर्पाई नलिँदा पनि समस्यामा पर्ने गरेका छन् ।

प्रकाशित मिति: २०२३-०७-०५ , समय : ०६:१९:२८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित