जनमत पार्टीलाई सरकारमा फर्काउने तयारी…..

उपप्रधानमन्त्री पाए आफैं सरकारमा सहभागी हुने अध्यक्ष सीके राउतको चाहना

मिति: २०२३-०७-०४ , समय : १५:५८:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौँ । मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउँदै ३ महिनाअघि सरकारबाट बाहिरिएको जनमत पार्टीलाई पुनः सरकारमा फर्काउन सत्ता गठबन्धनले तयारी गरेको छ । सोमबार बसेको गठबन्धन दलको बैठकले उक्त पार्टीलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको हो ।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मन्त्रालयबारे छलफल नभए पनि सरकारमा सहभागी गराउने विषयमा सत्ता गठबन्धन एकमत भएको बताए । ‘प्रधानमन्त्रीले माओवादी केन्द्र वा कांग्रेसको भागमा रहेको एक मन्त्रालय जनमतलाई दिनुहुन्छ,’ उनले भने, ‘त्यसको जिम्मा प्रधानमन्त्रीलाई दिने गरी जनमतलाई सरकारमा सहभागी गराउने निर्णय भएको हो ।’
पुस १० को गठबन्धनअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन र विश्वासको मत दिएको जनमतले उक्त गठबन्धन भत्किए पनि समर्थन कायमै राखेको छ । चैत १७ को मन्त्रिपरिषद् पुनर्गठनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नपाएपछि जनमतबाट सरकारमा सहभागी खानेपानीमन्त्री अब्दुल खानले राजीनामा दिएका थिए ।

पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्रीले सरकारमा सहभागी हुनका लागि आग्रह गरेपछि पार्टीभित्र सकारात्मक ढंगले छलफल अघि बढेको बताए । उनका अनुसार प्रधानमन्त्री दाहाल र पार्टी अध्यक्ष सीके राउतबीच आइतबार सरकारमा सहभागिताबारे छलफल भएको थियो ।

‘सत्ता गठबन्धनको आज (सोमबार) को बैठकले पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ, कुन मन्त्रालय र को जाने भन्नेबार थप छलफल होला,’ उनले भने । उपाध्यक्ष खानले उपप्रधानमन्त्री दिएको अवस्थामा पार्टी अध्यक्ष राउत नै सरकारमा सहभागी हुने बताए । मन्त्री मात्र दिने भएमा राउतबाहेक अरू नेता सरकारमा जाने उनको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले जसपालाई निरन्तर काखी च्यापेपछि जनमत पार्टी सत्ता गठबन्धनसँग टाढिँदै गएको थियो । प्रतिनिधिसभामा बजेट पारित गर्ने सम्बन्धमा बुधबार भएको मतदानमा तटस्थ बसेर दाहाल सरकारलाई आफ्नो असन्तुष्टि प्रकट गरेको थियो । उक्त पार्टीका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको अभिव्यक्ति दिएका थिए । झिनो बहुमतले बजेट पारित भएको र अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गिराउन प्रयास थालेपछि प्रधानमन्त्री दाहालमाथि जनमतलाई सरकारमा लिने दबाब परेको हो ।

‘हिजो संसद्को करिब शतप्रतिशत विश्वास पाएका प्रधानमन्त्री दाहाल बजेटसम्म आइपुग्दा झिनो बहुमतमा झरेपछि झस्किनुभएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘यसकै परिणामस्वरूप उहाँले जनमतलाई पनि सरकारमा सहभागी गराउने प्रयास गर्नुभएको हो ।’

अहिले कांग्रेस ९, माओवादी ५, जसपा र एकीकृत समाजवादी २–२ तथा लोसपा, नागरिक उन्मुक्ति र नेसपासँग १–१ मन्त्रालय छन् । निकटस्थका अनुसार प्रधानमन्त्री दाहाल सकेसम्म कांग्रेसलाई सहमत गराएर उसको भागको एक मन्त्रालय जनमत पार्टीलाई दिने तयारीमा छन् ।

चैत १७ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा कांग्रेसको भागमा ८ मन्त्रालय परे पनि जनमत सरकारमा नगएपछि एक मन्त्रालय थपिएको थियो । ‘पार्टीभित्रको भागबन्डा मिलाउन गाह्रो भयो भनेपछि कांग्रेसले एक मन्त्रालय थप पाएको थियो, त्यसैले प्रधानमन्त्रीको पहिलो प्रयास कांग्रेसलाई मनाउने हुनेछ,’ ती नेताले भने, ‘कांग्रेसले नमानेको अवस्थामा आफ्नै पार्टीको भागमा रहेको कुनै एक मन्त्रालय जनमतलाई दिनुहुन्छ ।’ इकान्तिपुरबाट

प्रकाशित मिति: २०२३-०७-०४ , समय : १५:५८:५१ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित