ललितानिवास जग्गा हिनामिनामा सञ्जय ‘टक्ला’ पनि छानबिनमा
मिति: २०२३-०७-०२ , समय : ०९:०३:२६ , गामघर डेस्क
मिति: २०२३-०७-०२ , समय : ०९:०३:२६ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
जनकपुर बम विस्फोटलगायत अपराधमा जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जय साह ‘टक्ला’माथि पनि प्रहरीले ललितानिवास जग्गा हिनामिनामा छानबिन थालेको छ । भौतिक योजना तथा निर्माण राज्यमन्त्री हुँदा जग्गा हिनामिनासम्बन्धी फाइलमा उनको पनि हस्ताक्षर फेला परेपछि प्रहरीले छानबिन थालेको हो ।
२०६६ सालमा बालुवाटारस्थित विशिष्ट व्यक्तिको परिसर विस्तारका नाममा विभिन्न निर्णय भएका थिए । त्यससम्बन्धी फाइल उनले पनि सदर गरी निर्यणका लागि अघि बाएका थिए । तर, फाइलमा कुनै राय भने नदिएका आधारमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । विभागीय मन्त्री विजयकुमार गच्छदारविरुद्ध भने आयोगले मुद्दा चलाएको थियो । मुख्य निर्णयमा सञ्जयको संलग्नता नदेखिएको र पछि सहायक प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा भने उनले पनि राय लेखेका थिए ।
जस आधारमा उनी पनि यस प्रकरणमा छानबिनमा रहेको सिआइबी स्रोत बताउँछ । सोही आधारमा पूर्वगृहसचिव नारायणगोपाल मलेगो पनि छानबिनमा छन् । मलेगो त्यतिवेला भौतिक मन्त्रालयका सहसचिव थिए । यो मुद्दामा गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसमेत छानबिनमा छन् ।
सामाजिक समितिमाथि छानबिन होला ?
०६९ मा पशुपति टिकिन्छा गुठीको नाममा तीन रोपनी १२ आना जग्गा लगेर हिनामिना भएको थियो । बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यतिवेला मन्त्रिपरिषद्को सामाजिक समितिमा फाइल पठाई समितिको निर्णयलाई सदर गरेको थियो । यदि मन्त्रिपरिषद्को सामाजिक समितिसम्मको निर्णयलाई अनुसन्धानमा तान्न सके यसमा अरू तत्कालीन मन्त्री र सचिव पनि तानिने सम्भावना छ । तर, त्यसतर्फ भने विस्तृत अनुसन्धान हुन नसकेको प्रहरी स्रोत बताउँछ ।
अख्तियारबाट जोगिएकाहरूमाथि सिआइबीको अनुसन्धान
ललितानिवास जग्गा हिनामिनामा घुसबापत जग्गा लिने कर्मचारी र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धानको दायरामा ल्याए पनि मुद्दा भने नचलाउने निर्णय गरेको थियो । तर, प्रहरीले सम्बन्धित कर्मचारी तथा आफन्तलाई समेत मुद्दा चलाउने तयारी साथ अनुसन्धान गरिरहेको छ । जग्गा हिनामिनामा संलग्न सबै पक्षमाथि विस्तृत अनुसन्धान भइरहेको सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्य बताउँछिन् ।
सो प्रकरणमा सिआइबीले व्यवसायी मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोतका कर्मचारीद्वय धर्मप्रसाद गौतम तथा गोपाल कार्कीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । हाल किर्ते मुद्दामा अनुसन्धान भइरहेकोमा संगठित अपराध कसुर पनि जोड्ने प्रहरी तयारी छ । उच्च तहका नेता तथा कर्मचारी मुछिएको यो प्रकरणमा अनुसन्धान प्रभावित पार्न विभिन्न निकायबाट प्रहरीमाथि दबाब परिसकेको स्रोत बताउँछ । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०७-०२ , समय : ०९:०३:२६ , २ वर्ष अगाडि