मधेस प्रदेशको सिरहाबाट खैरो हेरोइनसहित तीन युवक पक्राउ

मिति: २०२३-०७-०१ , समय : १४:१९:४४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा ।
मधेस प्रदेशको सिरहा नगरपालिका वडा न.– ७ बाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरी लागुऔषध मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले जिल्ला सदरमुकामस्थित ट्राफिक चोकबाट दुई पटकमा ७०.९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा सिरहा– ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव तथा सिरहा– २० का १९ वर्षीय सत्यनारायण कारक छन्। उनीहरुविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागुऔषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको पाण्डेले बताए।

प्रहरीका अनुसार ट्राफिक चोक नजिक गत बुधबार मनीषले चलाएको स. १० प ६१७७ नम्बरको मोटरसाइकल चढेर दक्षिणतर्फबाट आएका तीनजना स्थानीय लक्ष्मी डेरी उद्योग नजिक रोकिएर कुराकानी गरिरहेको अवस्थामा प्रहरीले शंका लागेर नियन्त्रणमा लिई सोधपुछ र खानतलासी गर्दा कारकले बोकेको झोलाबाट खैरो हिरोईनजस्तो देखिने लागुऔषध ६२.२१ ग्राम र तौल गर्ने डिजिटल मेसिन बरामद भएको थियो।

प्रहरीले तीनजनालाई नै नियन्त्रणमा लिई सोधपुछको क्रममा कारकले आफ्नो डेरामा पनि लागुऔषध राखेको सूचना दिएपछि सिरहा– ७ स्थित डेरा खानतलासी गर्दा शुक्रबार पुनः ८.७२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२३-०७-०१ , समय : १४:१९:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित