मधेस प्रदेश : दाइजाे नल्याएकाे भन्दै फेरि पनि आमा छोरीको हत्या
मिति: २०२३-०७-०१ , समय : १४:०६:०२ , गामघर डेस्क
मिति: २०२३-०७-०१ , समय : १४:०६:०२ , गामघर डेस्क
गामघर डेस्क
जनकपुर ।
मधेस प्रदेशको रौतहटको मौलापुरमा हिजाे शुक्रबार आमा छोरीको रहस्यमय ढंगले ज्यान गएकाे छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।
आरुहीको शव पङ्खामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताउनुभयो । उहाँका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो ।
“बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो”, साहको आरोप छ । अहिलेसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०७-०१ , समय : १४:०६:०२ , २ वर्ष अगाडि