भारतमा डकैती गर्न पुगेका मधेशका दुई युवक ईन्काउन्टरमा मारिए

मिति: २०२३-०६-२७ , समय : १३:५२:१२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
भारतमा डकैती गर्न पुगेका दुई युवकको भारतका सुरक्षाकर्मीले ईन्काउन्टर गरेको छ ।

भारतीय सुरक्षाकर्मीको ईन्काउन्टरमा परेर सर्लाहीका दुई युवाको मृत्यु भएको खबर बाहिरिएको हो ।

भारतीय संचारमाध्यमका अनुसार भारतको पूर्वी चम्पारणको घोडासहन थानामा सुरक्षाकर्मीको गोली लागेर लालबन्दी नगरपालिका २, पुनर्बास निवासी दुईजना युवाको मृत्यु भएको हो ।

आईतबार राती डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच दोहोरो भिडन्त भएको थियो । गोली लागेर ३ जना भारतीय सुरक्षाकर्मी गम्भीर घाईते भएका छन् ।

जवाफी कार्बाही स्वरुप भारतीय सुरक्षाकर्मीको गोली लागेर डकैती समूहका दुईजनाको घटनास्थलमै मृत्यु भएको भारतीय संचारमाध्यमहरुमा उल्लेख छ ।

मृत्यु हुनेहरुमा सर्लाही लालबन्दी २, पुनर्वासका २ युवा रहेको बताईएपनि स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी रहेको छ ।

भारतीय सुरक्षाकर्मीको दाबी अनुसार फरार हुन सफल डकैती समूहका अन्य डेढ दर्जन युवाहरु नेपालतर्फ भागेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले भारतीय सुरक्षाकर्मीको कार्बाहीमा सर्लाहीका दुईजनाको मृत्यु भएको खबर सुनिएपनि आधिकारिक रुपमा थाहा नभएको बताए ।

प्रकाशित मिति: २०२३-०६-२७ , समय : १३:५२:१२ , १ वर्ष अगाडि