७१ हजार मेट्रिक टन मल मौज्दात छ, यो वर्ष अभाव हुँदैन’: प्रधानमन्त्रि प्रचण्ड

मिति: २०२३-०६-२३ , समय : १५:२०:१० , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।

शुक्रवार आज प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गएकाे साउन महिनादेखि अहिलेसम्म ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको बताउनु भयो । उहाँले त्यसमध्ये ७१ हजार मेट्रिक टन रासायनिक मल विभिन्न डिपोहरुमा मौज्दात रहेको बताउनु भयो ।

त्यस्तै यही महिनाभित्र भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी मल ल्याइने पनि उहाँले बताउनु भयाे। प्रधानमन्त्री प्रचण्डले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो – ‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षहरुमा भन्दा सुदृढ भएको छ । २०७९ सालकाे साउन महिनादेखि अहिलेसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ । त्योमध्ये ७१ हजार मेट्रिक टन विभिन्न बिक्री डिपोहरुमा मौज्दात रहेको छ । भारतको काेलकाताबाट ४५ हजार मेट्रिक टन डीएपी यो महिनाभित्र नेपाल भित्रिने व्यवस्था गरिएको छ । धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन । सुरुमा रासायनिक मलका लागि १५ अर्ब विनियोजन भए पनि थप २३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले मल वितरण प्रणालीलाई पारदर्शी बनाउन मल आपूर्ति र वितरणमा डिजिटल प्रणाली अपनाइएको बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०६-२३ , समय : १५:२०:१० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित