अतिरिक्त हुलाक खारेजीको विरोधमा राजविराजमा बृहत प्रदर्शन
मिति: २०२३-०६-२१ , समय : २०:१०:२८ , गामघर डेस्क
मिति: २०२३-०६-२१ , समय : २०:१०:२८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
अतिरिक्त हुलाक खारेजीको विरोधमा सप्तरी जिल्ला हुलाक कार्यालय राजविराज आगाडि प्रदर्शन गरिएको छ । सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू विरोधमा उत्रिएका हुन् ।
जेठ १५ गते बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा भएपछि नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन सप्तरीले सरकारले गरेको खारेजीको घोषणा प्रति विरोध प्रदर्शन गरेको एसोसिएसनका अध्यक्ष देवनारायण यादवले बताउनुभयो ।
अतिरिक्त हुलाक खारेजीको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको रोजगारी खोस्न नपाइने, हुलाकको संरचना खारेज हैन यसको पुनः संरचना गर्नुपर्ने र राजीनामा दिई सेवाबाट नियमित रूपमा अवकाश भएका वा हुने कर्मचारीहरूको सेवा अवधिका आधारमा सेवा सुविधा सुनिश्चित गर्नुपर्ने आन्दोलनरत कर्मचारीहरूको माग रहेको छ ।
अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवाहरू बन्द गरी इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयमा कालो पट्टी बाँधेर असार ९ गतेसम्म शान्तिपूर्ण प्रदर्शन गर्ने र असार १० गतेपछि इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरूमा माग पुरा नभएसम्म विरोध प्रदर्शनका साथै हुलाकका कामकाज ठप्प पारी ताला बन्दी गर्ने, यसपछि पनि सरकारले माग सम्बोधन नगरेमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने अध्यक्ष यादवले बताउनुभयो ।
प्रकाशित मिति: २०२३-०६-२१ , समय : २०:१०:२८ , २ वर्ष अगाडि