काेशीमा अध्यादेशमार्फत बजेट आयाे, सांसद विकास कोषका लागि डेढ अर्ब रुपैयाँ
मिति: २०२३-०६-१६ , समय : ०५:५६:२३ , गामघर डेस्क
मिति: २०२३-०६-१६ , समय : ०५:५६:२३ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । कोशी प्रदेशमा सरकारले अध्यादेशमार्फत आउँदाे आर्थिक वर्षकाे बजेट जारी गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गर्नुभएको हो । खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गर्नुभएको छ । दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।
कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ एक करोड र पालिका वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटको स्रोततर्फ आन्तरिक चार अर्ब ५७ करोड ७८ लाख र राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात तीन अर्ब ७५ करोड एक लाख र वैदेशिक अनुदानबाट १५ करोड चार लाख रुपैयाँ आयको अनुमान गरिएको छ ।
काेशीमा सबैभन्दा धेरै भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै कृषि क्षेत्रका लागि दुई अर्ब सात करोड, उद्योगतर्फ ४३ करोड, खानेपानी सिँचाइ तथा ऊर्जातर्फ पाँच अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ तीन अर्ब सात करोड २७ लाख, सामाजिक विकासतर्फ एक अर्ब ७९ करोड ३३ लाख रुपैयाँ विनियाेजन गरिएकाे छ । साथै प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका एमालेका मुख्यमन्त्री कार्कीले कानुनी जटिलताका कारण आजै बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले असारको १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको चालु बर्खे अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसक्नुभएको छ ।
प्रकाशित मिति: २०२३-०६-१६ , समय : ०५:५६:२३ , २ वर्ष अगाडि