नेपाल एअरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु, हप्तामा एउटा उडान गर्ने तयारी

मिति: २०२३-०६-१३ , समय : ११:२९:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नेपाल वायुसेवा निगमको जहाजले मलेसिया–भैरहवा उडान गरेको छ ।

व्यावसायिक उडानको अन्तर्गत मलेसियाको क्वालालम्पुरबाट आएको निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी विमानलाई बिहान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभयो ।

विमानमा मलेसियाका पर्यटन व्यवसायीहरुसहित अरु यात्रु आएका छन् । भैरहवामा मलेसियाका व्यवसायीसहित ३१ जना यात्रु ओरालेर निगमको जहाज काठमाण्डौ आएको छ । बाँकी यात्रु काठमाण्डौ आएका छन् । निगमले अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाण्डाै ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको जनाएको छ ।

झण्डै ४० अर्ब रुपैयाँ लागतमा निर्माण भएको भैरहवा विमानस्थलको अघिल्लो वर्षको जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो । भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यस अघि कुवेतको जजिरा एअरलायन्सले मात्रै व्यावसायिक उडान गरेको थियो ।

जजिरापछि हिमालय एअरलायन्सले कात्तिकमा मलेसिया चार्टर्ड उडान गरेको थियो । अहिले यी दुवै कम्पनीले भैरहवाबाट नियमित तथा चार्टर्ड उडान गरेका छैनन् । नेपाल वायुसेवा निगमले पहिलो चरणमा न्यारोबडीबाट हप्तामा एउटा उडान गर्ने र भारतले एअररुट अनुमति दिएमा चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाण्डाै उडान गर्ने योजना रहेको बताएको छ । उज्यालो

प्रकाशित मिति: २०२३-०६-१३ , समय : ११:२९:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित