नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
मिति: २०२३-०६-०६ , समय : १६:३५:०४ , गामघर डेस्क
मिति: २०२३-०६-०६ , समय : १६:३५:०४ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ ।
सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाण्डाैका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस हुन्छ ।’
जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलील सरकारी वकिलले प्रस्तुत गर्नुभएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । याे थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डाैले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाण्डाैमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो । रासस
प्रकाशित मिति: २०२३-०६-०६ , समय : १६:३५:०४ , २ वर्ष अगाडि