गर्मी बढेपछि सप्तरीका दुई पालिकाका सम्पूर्ण विद्यालय पाँच दिनका लागि बन्द

मिति: २०२३-०६-०२ , समय : १८:००:४४ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएकाे छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका दुई पालिकाले पाँच दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या तथा विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको आजदेखि यही जेठ २३ गतेसम्म बिदा दिइएको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै कञ्चनरूप नगरपालिकाले पनि नगरभित्रका विद्यालयमा पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेणुका साहले सूचना जारी गर्दै आजदेखि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।

यसैगरी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजले पनि यही जेठ २१ देखि असार ८ गतेसम्म २० दिनका लागि क्याम्पस बन्द गर्ने निर्णय गरेको क्याम्पस प्रमुख राजीवकुमार मिश्रले जानकारी दिनुभयो । एक हप्तायता मधेस प्रदेशका सबैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ । नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन छाडेका छन् । गर्मीबाट बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

प्रकाशित मिति: २०२३-०६-०२ , समय : १८:००:४४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित