सप्तरीको रुपनी गाउँपालिकामा अस्पताल भवन निर्माणमा नक्कली बैंक ग्यारन्टी खडा गरि दुई कराेड भुक्तानी भएको खुलासा

मिति: २०२३-०६-०२ , समय : ११:०२:५० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
आन्तरिक मिलोमतोमा नक्कली बैंक ग्यारन्टी(बैंक एडभान्स पेभमेन्ट ग्यारन्टी) खडा गरी दुई करोड भुक्तानी दिएको रहस्य खुलेको छ । सप्तरीको रुपनी गाउँपालिका कार्यालयले एचटीसी कन्स्ट्रक्सन नारायण जेभीलाई बैंकको नक्कली ग्यारन्टी कागजातमा दुई करोड रुपियाँ भुक्तानी गरिएको हो ।
एचटीसीले रुपनी गाउपालिका वडा न. २ नौवापारस्थित १५ शैय्याको अस्पताल निर्माणको ठेक्का सकार गरेको छ । सिरहा जिल्ला धनगढीमाई नगरपालिका १० ठेगाना भएको एचटीसी निर्माण व्यवसायीले निर्माण कार्यको सम्झौता भइसकेपछि गाउँपालिका, निर्माण व्यवसायी, बैंक र कोष तथा लेखा नियन्त्रण कार्यालयको आन्तरिक मतोमिलोमा नक्कली बैंक ग्यारन्टीको कागजात पेश गरेर भुक्तानी गरिएको गाउँपालिकाका विश्वस्त स्रोतले जनाएको छ ।
स्रोतका अनुसार एचटीसी कन्स्ट्रक्सनका प्रतिनिधि सन्तोष रजकले कन्स्ट्रक्सनको नामको माछापुछ«े बैंक लिमिटेड राजविराज शाखाको दुई करोड रकमको नक्कली ग्यारन्टी पत्र बनाएर मोबिलाइजेशन खर्च भनेर भुक्तानीको लागि पेश गर्नुभएको थियो । उक्त कागजातको आधारमा रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीले २०७९ चैत ३० गते बैंक ग्यारन्टी जतिकै दुई करोड रकम कन्स्ट्रक्सनको नाममा माछापुछ«े बैंक लिमिटेड राजविराज शाखामा रहेको चलती खाता नं. ०५३०९९१६६४१०००१५ मा भुक्तानी गर्नु भएको छ । दुई करोडको छुट्टाछुट्टै दुई वटा बैंक ग्यारन्टी बनाइएको पाइएको छ । २०२३ अप्रिल १ मा जारी भइ २०२३ अक्टुवरसम्म अन्तिम म्याद भएको बैंकको ग्यारन्टी नम्बर ०५३APGTE८००००८० रहेको छ । भने अर्को २०२३ अप्रिल ११ मा जारी भइ २०२३ नोभेम्बरसम्म अन्तिम म्याद रहेको बैंक ग्यारन्टी नम्बर एउटै अर्थात् ०५३APGTE८००००८० रहेको पाइएको छ । दुबै ग्यारन्टी कागजमा आधिकारिक हस्ताक्षर, छाप एकैनासको पनि छ । मिति मात्र फरक भएको दुई वटा बैंक ग्यारन्टी भेटिएपछि स्थानीयले चासो राख्दा अनियमितताको रहस्य बाहिरिएको हो ।
यस भुक्तानीको तीन अघि टेण्डरको क्रममा बैंक ग्यारन्टी वापत राखिएको ७४ लाख तीन हजार ११३ मध्ये ६० लाखमध्ये ६० लाख रुपियाँ मोबिलाइजेशन खर्चवात २०७९ चैत २७ गते भुक्तानी दिइसकेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताउनुभयो । तीन दिनको अन्तरालमा कामको कुनै प्रगति भएन तर मूल्याकंन बिना नै फेरि भुक्तानी दिनुको अर्थ आर्थिक चलखेल रहेको प्रष्ट देखिएको उहाँको कथन छ ।
यस सम्बन्धमा रुपनी गाउँपालिकाका योजना शाखा प्रमुख सुजन दहालले रकम भुक्तानी भइसकेपछि नक्कली बैंक ग्यारन्टी पेस गरिएको थाहा पाइएको बताउनुभयो । तत्काल बैंकलाई मौखिक रुपमा त्यसपछि लिखित रुपमा रकम भुक्तानी नगर्न अनुरोध गरेको उहाँले भन्नुभयो, त्यो दुई करोड रुपियाँ गाउँपालिकाको खातामा फिर्ता भयो ।
तत्कालीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द चौधरीले जवाफ दिन हिचकिचाउँदे भन्नुभयो, आफु सरुवा भएर आइसकेकोले अरु कुरा केही थाहा छैन । उहाँ हाल सप्तरीको अग्नीसाइर कृष्णसवर गाउँपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । कन्स्ट्रक्सनका प्रतिनिधि सन्तोष रजकले घटनाबारे बोल्न नचाहेर भन्नुभयो, म फिल्डमा खटिने कर्मचारी हुँ । यस विषयमा केही थाहा छैन ।
यता भर्खरै सरुवा भएर आउनु भएको रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवले यस घटनाको विषयमा अनुसन्धान गर्ने निकाय अनुसनधान थालिएको बताउनुभयो । उहाँले अख्तियारले सबै फाइल मागेको छ, पठाउने तयारी भइरहेको बताउनुभयो ।
माछापुछ«े बैंक लिमिटेडका सूचना अधिकारी सुनिल खतिवडाले यस कार्यमा बैंकका कर्मचारीको संलग्नता नरहेको दाबी गर्दै भन्नुभयो, तर, नक्कली बैंक ग्यारन्टी कागजको विषयमा अनौपचारिक जानकारी पाएपछि अनुसन्धान गर्ने निकायसमक्ष पुगेका छौ र अनुसन्धान गरिरहेका छं । हामीलाई अहिलेसम्म कसैबाट औपचारिक रुपमा त्यसको सबुद प्रमाण पाएको छैन, उहाँले थप्नुभयो, नक्कली ग्यारन्टी कागजात देखेका छैनौ, बाहिर सुनेको भरमा अनुसन्धान गर्ने निकायमा पुगेका छौ ।
यस विषयमा स्थानीयले छानविन गरी आवश्यक कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८० वैशाख १२ गते दर्ता गराएको छ । अख्तियारमा उजुरी दर्ता भएको थाहा पाएपछि गाउँपालिकाले २०८० वैशाख १४ गते उक्त दुई करोड रकम पालिकाको खातामा फिर्ता गराएको कर्मचारी स्रोतले जनाएको छ । गाेरखापत्रबाट

प्रकाशित मिति: २०२३-०६-०२ , समय : ११:०२:५० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित