कोशी प्रदेश : वार्ताको लागि पहिचान पक्ष सकारात्मक, नेता कार्यकर्ता रिहा भएपछि आमहडताल फिर्ता
मिति: २०२३-०५-३१ , समय : ०७:५९:०५ , गामघर डेस्क
मिति: २०२३-०५-३१ , समय : ०७:५९:०५ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेश सरकारले गरेको वार्ता आह्वानालाई पहिचान पक्षले स्वागत गरेको छ ।
संघर्ष समितिका संयोजक अर्जुन जम्नेली राईले वार्ताको लागि औपचारिक पत्र नआए पनि आफूहरु परिणाममुखी वार्ताको लागि सधैं तयार रहेको बताउनुभयो ।
उज्यालोसँगको कुराकानीमा उहाँले सरकारले वार्तामा बोलाउनु सकारात्मक रहेको बताउनुभयो ।
प्रदेशको नाम कोशी खारेजको माग राख्दै आन्दोलन गरिरहेको पहिचान पक्षलाई तीन महिनापछि कोशी प्रदेश सरकारले हिजो वार्ताको आह्वान गरेको हो ।
कोशी प्रदेश सरकारका प्रवक्ता भक्ति प्रसाद सिटौलाले विज्ञप्ति निकालेर वार्तामा आउन आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभएको छ ।
गएको फागुन १७ गते प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरहरूले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।
यसैबीच गएको १४ गते पक्राउ परेका २७ जना पहिचानवादी नेता कार्यकर्तालाई स्थानीय प्रशासनले रिहा गरेको छ ।
संघर्ष समितिले आफ्ना कार्यकर्ता नछोडे आज प्रदेशव्यापी आमहड्ताल गर्ने चेतावनी दिएको थियो ।
नेता कार्यकर्ता रिहा भएपछि पहिचान पक्षधरले आज गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन्।
प्रकाशित मिति: २०२३-०५-३१ , समय : ०७:५९:०५ , २ वर्ष अगाडि