बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि, भ्याटमा १७० र अन्तःशुल्क अन्तर्गत ३४० छुटका दर खारेज
मिति: २०२३-०५-३० , समय : ०८:२९:३८ , गामघर डेस्क
मिति: २०२३-०५-३० , समय : ०८:२९:३८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ भोलि मङ्गलवारदेखि नै लागू हुनेछ ।
आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।
अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ । यस्तै पछिल्लो समय सरकारी राजस्व सङ्कलन लक्ष्यभन्दा निकै कम देखिएपछि सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कमा दिइँदै आएका विभिन्न छुटका दरहरू खारेज गरेको छ ।
‘छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका एक सय ७० र अन्तःशुल्कका तीन सय ४० छुटका दर खारेज गरेको छु’, अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आउँदो आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै भन्नुभयो ।
सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका व्यक्तिलाई लाग्दै आएको आयकरको दरमा सामान्य वृद्धि गरेको छ ।
प्रकाशित मिति: २०२३-०५-३० , समय : ०८:२९:३८ , २ वर्ष अगाडि