मधेश प्रदेशकाे सर्लाहीमा स्ववियुको चुनाव स्थगित गरेपछि विद्यार्थीहरु आन्दोलित

मिति: २०२३-०२-२६ , समय : १५:१५:४८ , गामघर डेस्क

गामघर डेस्क

जनकपुर । मधेस प्रदेशकाे सर्लाही जिल्ला स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा व्यवस्थापन समितिले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव स्थगित गरेपछि विभिन्न विद्यार्थी संगठन आन्दोलित भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका क्याम्पसमा एकसाथ स्ववियु चुनाव तोकेकोमा सुखेपोखरी क्याम्पसले चुनाव स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका हुन् ।

आइतबार तोकिएकै मितिमा स्ववियु चुनाव गराउन माग गर्दै ४ वटा विद्यार्थी संगठनले केहीबेर सुखेपोखरीस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर चक्काजाम गरेका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु (एस) र जसपा नेपाल निकट संघीय समाजवादीमा आवद्ध विद्यार्थीले राजमार्गमा चक्काजाम गर्दै स्ववियु निर्वाचनको माग राखेका हुन् ।

अनेरास्ववियु (एसं) का क्याम्पस कमिटी अध्यक्ष प्रेमराज दाहालले आफू अनुकुल फर्जी विद्यार्थी भर्ना गर्न नपाउँदा केही व्यक्तिले स्ववियु चुनाव भाँड्न खोजेको आरोप लगाए ।

विद्यार्थी आन्दोलनमै उत्रिएपछि अहिले दिउँसो क्याम्पसमा सबै दलका प्रतिनिधि, विभिन्न विद्यार्थी संगठनको क्याम्पस कमिटीका अध्यक्ष र अन्य सरोकारवालालाई छलफलमा बोलाइएको क्याम्पसका अध्यक्ष बासुदेव निरौलाले बताए । टुडेपाटीबाट

प्रकाशित मिति: २०२३-०२-२६ , समय : १५:१५:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित