मधेस प्रदेशमा प्रहरीका घुमुवाको सेटिङमा तस्करी बढ्दै…… राजस्व असुली घट्दै

मासिक १ लाखदेखि ५ लाखसम्म घुमुवाले असुली गर्दै

मिति: २०२३-०५-०८ , समय : ०८:२५:५९ , गामघर डेस्क

अबैध रुपमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै तस्बिर : गामघर टिभि

गामघर डेस्क

जनकपुर । मधेस प्रदेश सहित तराईका जिल्लाका प्रहरी प्रमुखहरुले सादा पोशाकमा प्रहरी खटाउने र ती प्रहरी अपराध नियन्त्रणमा भन्दा अतिरिक्त कमाइतिर केन्द्रित हुने गरेको समाचार बारम्बार आउने गरेको छ । अर्थतन्त्र संकटग्रस्त छ, लक्ष्यअनुरुप राजस्व असुली हुन नसकिरहेको अवस्था छ । प्रहरीका यिनै घुमुवाको सेटिङमा सीमा क्षेत्रमा भन्सारछली तस्करीबाट सामान भित्रन छुट दिंदा लक्ष्य अनुरुप राजस्व असुली हुन नसकेको तीतो यथार्थता छ ।

दरबन्दी अर्कै प्रदेशमा भएका त्यस्ता प्रहरीमध्ये कतिपय त जागिरमा प्रवेश गरेदेखि नै सादा पोशाकमा परिचालित हुँदैआएका छन् । जिल्ला र इलाकाका प्रमुखले सादा पोशाकमा घुमुवाका रुपमा खटाइएका र लामो समयदेखि कार्यरत भएकाले तस्कर, नदी दोहन गर्ने क्रसर ब्यवसायीहरु र अपराधीले उनीहरुलाई मिलाएर आफ्नो अवैध कारोबार निर्बाध गर्दैआएका छन् । मधेशमा समूह समूहको क्रियाकलाप बढ्नुमा लामो समयदेखि कार्यरत घुमुवाहरुमार्फत् नै सशस्त्र समूहले सूचना लिने र चन्दा आतंक, हत्या, हिंसाका घटना घटाउँदै आएको पुष्टि भएपछि ठूलो संख्यामा सरुवा भएका थिए ।

यस्तै हालका आईजीपी वसन्तबहादुर कुँवरको निर्देशनमा लामो समयदेखि एकै ठाउँमा काजमा कार्यरत रहेका विवादास्पद प्रहरीहरुको काजफिर्ता भइरहेको छ । आईजीपी कुँवरको निर्देेशनमा काजफिर्ता गरी रवाना दिन जिल्लाका प्रहरीका हाकिम बाध्य भएका छन् । तर तीमध्ये केही राजनीतिक शक्ति र प्रहरी संगठनमा राम्रो पँहुच भएका विवादास्पद बदनाम घुमुवाहरुलाई रवाना नगरी जिल्लाका एसपीहरुले नै काखी च्यापेर राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा ७ वर्ष भन्दा लामो समयदेखि घुमुवाको रूपमा कार्यरत बरिष्ठ हवल्दार राजमंगल सिंहको दरबन्दी मधेश प्रदेश बाहिर र महोत्तरीमा ५–६ वर्षदेखि घुमुवाको रूपमा कार्यरत प्रहरी सहायक निरीक्षक संजय पासवानको दरबन्दी काभ्रे रहेता पनि शक्तिको आडमा लामो समयदेखि उनीहरु त्यहीँ छन् । यी दुवै घुमुवा भारतसँग जोडिएका सिमानाकाबाट अबैध कारोबार, जालीनोट र चोरी तस्करीको नेटवर्क संचालन गर्ने मुख्य नाइके नै मानिन्छन् । सिंहलाई रौतहटका एसपी वीरबहादुर बुढा र पासवानलाई महोत्तरीका एसपी प्रकाश मल्लले परिचालन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका घुमुवा प्रहरी सहायक निरीक्षक(असई) संजय सिंह राम्रो कमाई हुने माल्दार ठाँउ प्रहरी चौकी कटुधारको इन्चार्ज रहे पनि उनी जिल्लाका पनि घुमुवा हुन् । उनका सहयोगी अर्का घुमुवा ५ वर्षदेखि अड्डा जमाएर बसेका राजेश्वर राय यादवले तस्करीको लाइन दिएर अबैध कारोबारीबाट लाभ लिने गरेको खुलेको छ ।

महोत्तरीको सम्सी नाकाबाटबाट बाला, कालिया, श्याम, नियाज, सिकेन्द्र यादव, सुनिल यादव, आलमा, राजा चौधरी र मटिहानी नाकाबाट बिन्देश्वर नायक, सुजित, महेश, मुना, रोशन लगयतको तस्करहरुले कपडा, किराना हार्डवेयरको लाइन चलाइरहेका छन् ।

यस्तै धनुषाको इलाका प्रहरी कार्यालय खजुरीमा ६ बर्षदेखि घुमुवाको रूपमा कार्यरत हवल्दार बृजेश मुखियाले धनुषाको इनर्वा, दुबही मैनाथपुर, ठाडी झिझा लगायतको सिमानाकामा भन्सारछली गरी तस्करी गर्दैआएका छन् । इनर्वा नाकाबाट भारततर्फ रक्सीको तस्करी गर्न मासिक दररेट बुझाएर सोशिल यादव र राकेश यादवले लाइन पाएका छन् भने कपडा हार्डवेयरको लाइन छोटुले पाएका छन् ।

तस्करीको दुनियाँमा धनुषामा नामुद भनेर चिनिएका चाची र उनका छोरा राजीव महासेठले दुबही मैनाथपुरबाट भारततर्फ स्याउ, मटर, मरीच, चाइनिज कष्टमेटिक, रक्सी र भारतबाट नेपालतर्फ कपडा , तेल, किराना सामान लगायत ल्याउने गरेका छन् । यसरी लाइन दिएबापत महिनाको दररेट बुझाएर तस्करीलाई निर्बाध रूपमा चलाइरहेका छन् । घुमुवा मुखियाले इप्रकाका इन्स्पेक्टरदेखि जिल्लाका एसपी बिश्वराज खड्काको नाममा समेत रकम उठाउने गरेको स्रोतले जनाएको छ । यी ब्यापारीसँग मासिक दररेट १ लाखदेखि ५ लाखसम्म घुमुवाले उठाउने गरेका छन् । नेपाल फेस अनलाइनबाट

प्रकाशित मिति: २०२३-०५-०८ , समय : ०८:२५:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित