प्यारागन छात्रावासको तेस्रो तल्लाबाट लडेर एक विद्यार्थीको मृत्यु

मिति: २०२३-०५-०६ , समय : १६:०६:२१ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा छात्रावासको तेस्रो तल्लाबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा न. ७ स्थित प्यारागन विद्यालयको तेस्रो तलाबाट लडेर जिल्लाकाे डाकनेश्वरी नगरपालिका वडा न.–७ का ९ वर्षीय मोहम्मद ममताजको बिहीबार साँझ मृत्यु भएको हो ।

उनी कक्षा २ मा अध्ययनरत थिए । प्यारागन विद्यालयमा कक्षासँगै छात्रावाससमेत राखिएको छ ।

गत वैशाख १२ गते मात्र सो विद्यालय र छात्रावासमा भर्ना भएका बालक ममताज भर्ना भएको २ दिनपछि पैतालामा घाउ भएर अभिभावकसँग घर गएका थिए ।

वैशाख २१ गते बिहीबार साढे १२ बजे मात्र छात्रावास आएका उनी साँझ ५ बजेर ३९ मिनेटमा छतबाट लडेका थिए ।

छात्रावासमा ट्युसन पढिरहेका बेला साढे ५ बजे एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो । तर साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए ।

त्यो तल्लामा रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ ।

तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याएको केहीबेरमै उनको मृत्युु भएको तथा साे घटनाबारे थप अावश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : १६:०६:२१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित