हुलाकी सडककाे अधुरा काम नगर्ने कम्पनीलाई कारबाही गर्न मन्त्रीकाे निर्देशन

मिति: २०२३-०५-०५ , समय : १९:२१:२६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ ।

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो । उहाँले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ ।

हुलाकी राजमार्गको यस खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन् । अहिले निर्माण कम्पनीले काम ठप्प गरेपछि सङ्घीय सांसद, प्रदेश सभा सदस्य र पाँच पालिकाका जनप्रतिनिधिले आज पत्रकार सम्मेलन गरेका थिए ।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन् । जम्मा ४४ किमी खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये अहिलेसम्म २० किमी सडकमा कालोपत्र भइसकेको छ । रासस

प्रकाशित मिति: २०२३-०५-०५ , समय : १९:२१:२६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित