भारतकाे मणिपुरमा कर्फ्यु : इन्टरनेट, रेल सेवा बन्द
मिति: २०२३-०५-०५ , समय : १५:२७:१८ , गामघर डेस्क
मिति: २०२३-०५-०५ , समय : १५:२७:१८ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसा उग्र बन्दै गएको छ । जनजाति र गैरजनजाति समुदायबीचको हिंसाका कारण पछिल्ला केही दिनदेखि मणिपुर अशान्त रहेकाे बीबीसी हिन्दीले जनाएको छ ।
प्रदेश सरकारले हिंसा नियन्त्रण गर्न नसकेपछि केन्द्र सरकारले विभिन्न सुरक्षा बल पठाएको छ । सरकारले मणिपुरमा पाँच दिनका लागि इन्टरनेट बन्द गरेको छ भने आज शुक्रवार र भोलि शनिवार मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् । अवस्था सुधार नभएमा रेल सेवा थप रद्द हुने चेतावनी दिइएको छ ।
भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र प्रशासनले देख्नासाथ गाेली हान्न सेनालाई अधिकार दिएको बताउनुभएको छ । स्थिति नियन्त्रण गर्न सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाइएको छ । सडकहरूमा सेनाले मार्चपास गरिरहेका छन् । भारतीय वायु सेनाका विमानले निगरानी गर्ने र हिंसामा फसेकाहरूको उद्धारको काम गरिरहेको छ ।
गएकाे अप्रिल १९ मा मणिपुर उच्च न्यायालयले राज्य सरकारलाई मैतेई समुदायलाई चार हप्ताभित्र अनुसूचित जनजाति (एसटी) कोटीमा समावेश गर्ने अनुरोधमाथि विचार गर्न आदेश दिएकाे थियाे । त्यही आदेशकाे विरोधमा अल ट्राइबल स्टुडेन्ट्स युनियन मणिपुरले चुराचांदपुरको तोरबंग इलाकामा बुधवार ‘आदिवासी एकता मार्च’ र्याली निकालेको थियो । हजाराैँ मानिस सहभागी र्यालीकै क्रममा हिंसा भड्किएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सीबाट
प्रकाशित मिति: २०२३-०५-०५ , समय : १५:२७:१८ , २ वर्ष अगाडि