ऋण फिर्ता नगरेपछि ऋणीको घर अगाडि प्रगतिले गरिन आत्मदाह
मिति: २०२३-०५-०३ , समय : १९:५१:०१ , गामघर डेस्क
मिति: २०२३-०५-०३ , समय : १९:५१:०१ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर ।
लिएको रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् ।
विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् ।
बैशाख १४ गते बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ ।
आगोले जलेर गम्भीर घाइते भएका उनको रेडप्लस अस्पतालमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार १५ वैशाखमा नेपालको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन आरोपमा विराटनगर–४ तित्रीगाछीका प्रगति भनिने ५५ वर्षीय गति पोखरेल र उनकी बहिनी ३६ वर्षीया सबिना पोखरेल पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार मृतकले पोखरेललाई २०७२ सालमा ऋण दिएका थिए । नेपालले दिएको ऋण उठाउन अनेक प्रयास गरेपनि ऋण उठाउने प्रयास असफल भएपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको अनुसन्धानका क्रममा खुलेको हो ।
‘२०७२ सालमा २१–२२ लाख रुपैयाँ ऋण दिनुभएको रहेछ, तर त्यो पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको देखियो’, उनले भने ।
पक्राउ परेकाहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएका छन् ।
प्रकाशित मिति: २०२३-०५-०३ , समय : १९:५१:०१ , २ वर्ष अगाडि