मधेस प्रदेशमा जनमत पार्टीलाई सत्ताबाहिर राख्ने तयारी….
मिति: २०२३-०४-२७ , समय : १२:२९:०३ , गामघर डेस्क
मिति: २०२३-०४-२७ , समय : १२:२९:०३ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
जनता समाजवादी पार्टी र जनमत पार्टीले प्रतिष्ठाको विषय बनाएको बारा २ को उपचुनावको नतिजा सार्वजनिक भएसँगै अब मधेस प्रदेशको सत्ता समीकरण फेरिने भएको छ । उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीचको प्रतिष्ठाको लडाइँमा यादवले बाजी मारेसँगै अब जनमत मधेस सरकारबाट बाहिरिने पक्कापक्की छ । जनमत संघीय सरकारबाट यसअघि नै बाहिरिसकेको छ ।
जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा र एकीकृत समाजवादीलाई भित्र्याउने र जनमतलाई बाहिर राख्ने छलफल सुरु भएको छ । यादव कांग्रेस, लोसपा र एकीकृत समाजवादीको बलमा संसद्मा पुगेका हुन् ।
जसपा प्रवक्ता मनीष सुमनले जसपासँग टकरावको राजनीति गर्ने जनमत बारामा पराजित भएसँगै नैतिकताका अधारमा मधेस सरकार छोड्नुपर्ने बताए । ‘भर्खर जन्मेको पार्टीले मधेसको एजेन्डा, राजनीतिक संस्कार बिर्सेर जुन हिसाबले जसपाविरुद्ध खनियोे, त्यसको हिसाबले जनमतले राजीनामा दिएर सरकारबाट बाहिर हुनुपर्ने हो,’ उनले भने । उपराष्ट्रपतिको निर्वाचनदेखि बारा २ को उपचुनावसम्म जनमतले जसपालाई टक्कर दिएको थियो । जनमतका मन्त्रीले सरकार नछाडे मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूसँग दुई–तीन दिनभित्रै राजीनामा माग्ने उनले बताए । बारा उपनिर्वाचनमा गठबन्धन निश्चित भएसँगै कांग्रेस, लोसपा र नेकपा–एसका नेताहरूले आफूहरूलाई सरकारमा सहभागी गराउन दबाब दिँदै आएका थिए ।
जनमत पार्टीका मधेसका संसदीय दलका नेता तथा मन्त्री महेशप्रसाद यादवले जनमतले जसपाको कृपाले सरकारमा नरहेको र केन्द्रीय गठबन्धनअनुसार आफूहरू अहिले सरकारमा सहभागी रहेको बताए । आफूहरू सत्ताको लोभी नरहेको बताउँदै उनले भने, ‘केन्द्रीय गठबन्धनअनुसार यो सरकार बनेको हो । गठबन्धनले जुन निर्णय गर्छ, त्यसलाई जनमतले आत्मसात गरेर अगाडि बढ्छ ।’ प्रदेश सरकारमा जनमतका दुई मन्त्री छन् ।
एमाले समीकरण छँदा मधेस सरकारकोे नेतृत्व जसपा र जनमतले आलोपालो गर्ने सहमति भएको थियो । तर केन्द्रीय समीकरण फेरिनुका साथै बाराको उपनिर्वाचनमा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको थियो । नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०४-२७ , समय : १२:२९:०३ , २ वर्ष अगाडि