विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडान हिंसामा ४१३ को मृत्यु भएको खुलासा

मिति: २०२३-०४-२५ , समय : ०८:३८:२५ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

सुडान ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसंघीय बाल निकाय (युनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।

संगठनकी प्रवक्ता मार्गरेट
ह्यारिसले पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्यांकअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको र तीन हजार ५५१ जना घाइते भएको जानकारी दिइन् ।

गत शनिबारदेखि देशको सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच भिडन्त भइरहेको छ । उनले अप्रिल १५ यता १० सहित स्वास्थ्य संस्थामा ११ वटा आक्रमण भएको पुष्टि भएको बताइन् । ‘सुडानको स्वास्थ्य मन्त्रालयका अनुसार काम गर्न छाडेका स्वास्थ्य संस्थाहरूको संख्या २० पुगेको छ । साथै, स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बन्द हुने जोखिममा रहेका स्वास्थ्य संस्थाहरूको संख्या १२ छ,’ ह्यारिसलाई उद्धृत गर्दै अनादोलुले रिपोर्ट गरेको छ ।

पत्रकार सम्मेलनमा युनिसेफका प्रवक्ता जेम्स एल्डरले भने, ‘यो लडाइँले बालबालिकामा विनाशकारी असर पारेको स्पष्ट छ । अहिले हामीसँग कम्तीमा नौजना बालबालिकाको मृत्यु भएको र कम्तीमा ५० जना घाइते भएको समाचार प्राप्त भएको छ ।’ लडाइँ जारी रहँदा पीडित बालबालिकाको संख्या उल्लेख्य रूपमा बढ्ने देखिएको उनले बताए ।

एल्डरका अनुसार द्वन्द्वका कारण ठूलो संख्यामा मानिसहरू फसेका छन् र उनीहरूसँग विद्युत्को पहुँच छैन । उनीहरूलाई खाना, पानी र औषधिको अभाव छ । उनले भने, ‘हाम्रो गम्भीर चिन्ताको विषय भनेको आक्रमणको चपेटामा परेका अस्पताल हुन् ।’

खार्तुममा अमेरिकी कूटनीतिज्ञको उद्धार
अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आइतबार त्यहाँबाट उद्धार गरिएको हो ।

अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट निकालेर सुरक्षित स्थानमा पुर्‍याएका राष्ट्रपति जो बाइडेनले बताएका छन् । उनले उद्धारमा अमेरिकी सेनालाई सघाएकामा जिबुटी, साउदी अरब र इथियोपियाप्रति आभार व्यक्त गरेका छन् । उनले आफ्ना कर्मचारी र सैनिकको प्रशंसा पनि गरेका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार करिब एक सय अमेरिकी सेनाको फौजले केही क्षणमै झन्डै एक सयजना कूटनीतिक कर्मचारी तिनका परिवारजनलाई हेलिकोप्टर प्रयोग गरेर दूतावास भवनबाट बाहिर निकालेको थियो । तीनवटा चिनुक हेलिकोप्टरमा अमेरिकी सेनाका अधिकारी इथियोपिया हुँदै सुडान पुगेका थिए ।

अहिले खार्तुमस्थित अमेरिकी दूतावास बन्द छ । अमेरिकी विदेश मन्त्रालयले सुडानमा रहेका आफ्ना नागरिकलाई असुरक्षाका कारण कन्सुलर सेवा प्रदान गर्न नसकिने जनाएका छन् । उनीहरूलाई सुरक्षित रूपमा त्यहाँबाट निकाल्न पनि कठिन भएको जनाइएको छ ।

शनिबार खार्तुमबाट करिब एक सय ५० जनालाई उद्धार गरिएको थियो । कूटनीतिज्ञ र अन्तर्राष्ट्रिय निकायमा कार्यरत कर्मचारीको उद्धार गरिएको हो । उद्धार गरिएकामा खाडी मुलुक, इजिप्ट, पाकिस्तान र क्यानडाका नागरिक छन् । राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा चार सयजनाले ज्यान गुमाएका छन् भने करिब चार हजारजना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको आरएसएफबीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पताल क्षतिग्रस्त भएका छन् भने सहायता कार्यमा अवरोध उत्पन्न भएको छ । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-२५ , समय : ०८:३८:२५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित