बारा २ र चितवनमा सर्वदलीय बैठकपछि मतगणना सुरु हुने , तनहुँ १ मा स्वर्णिम वाग्लेलाई दोब्बर मतको अग्रता

मिति: २०२३-०४-२४ , समय : ०७:४४:३८ , गामघर डेस्क

तस्बिर : गामघर टिभिबाट

गामघर डेस्क

राजविराज ।
मधेस प्रदेशकाे बारा क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना आज बिहानदेखि सुरु हुने भएको छ ।

गएरातिदेखि नै मतगणना सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा ढिलाइ भएकाले आज बिहानदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । सर्वदलीय बैठक सकेर बिहान ९ वा १० बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको उहाँको भनाइ छ ।

मतगणनाका लागि स्थान निर्धारण गरिएको बारा सदरमुकाम कलैयामा रहेको शैक्षिक तालिममा सुरक्षा व्यवस्था कडा पारिएको छ । बारा क्षेत्र नम्बर २ मा ६५ प्रतिशत मतदान भएको थियो । यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल १ लाख ५ हजार २ सय ४८ मतदाता छन् ।

यो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यसेबिच चितवन क्षेत्र नम्बर २ मा हिजो भएको उपचुनावको मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ ।

बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणनाको समय तय हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । यसअघि गएराति नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भए पनि बैठक बस्न सकेको थिएन ।

नेपाली कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र प्रमुख जिल्ला अधिकारीविरुद्ध दिएको उजुरीको कारबाही टुङ्गो नलगाएसम्म मतगणना हुन नदिने कांग्रेसको अडान छ ।

कांग्रेसले आचारसंहिता उल्लङ्घनमा लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारीलाई कारबाही गर्न उजुरी दिएको छ । चितवनको मतगणना चितवन उद्योग सङ्घको सभाहलमा हुँदैछ। यस्तै हिजो भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले दोब्बर मतले अगाडि हुनुहुन्छ ।

आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका विभिन्न ६ वटा वडाको ९ हजार २४६ मतगणना हुँदा वाग्लेले ५ हजार १९ मत ल्याउनुभएको छ । कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ३५१ र एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ५४९ मत ल्याउनुभएको छ ।

उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-२४ , समय : ०७:४४:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित