बारा २ मा जसपा, एमाले र रास्वपाका उम्मेदवारले आफुलाई मत हाल्न नपाउने

बारा २ मा १ बजेसम्ममा २५ प्रतिशत मतदान

मिति: २०२३-०४-२३ , समय : १४:०२:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

बारा । मधेस प्रदेशकाे बारा २ मा भइरहेको उपनिर्वाचनमा केही घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

मतदाताहरु मतदान केन्द्रहरूमा लाइन लागेर मतदान गरिरहेका छन् ।
यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टीका उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।

यादव सप्तरी–२ का मतदाता हुन् भने पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् ।

बारामा २ मा ३४ जना उम्मेदवार छन् । १० राजनीति दल र २४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसेबिच बारा क्षेत्र नम्बर–२ मा मध्यान्ह १ बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

आइतबार भइरहेको उपनिर्वाचनमा २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार बारा–२ मा ८३ मतदानस्थलका १३७ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार २४८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीका अनुसार बारा–२ मा नेकपा एमालेबाट पुरूषोत्तम पौडेल, जसपाबाट उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेमकिपाबाट मुक्ति यादव, आम जनता पार्टीबाट अरूण ज्ञवालीलगायतका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १४:०२:३२ , २ वर्ष अगाडि