बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबद्वारा राजीनामा

मिति: २०२३-०४-२२ , समय : ०८:५२:१७ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

बेलायत ।
बेलायती उपप्रधानमन्त्री डोमिनिक राबले हिजो पदबाट राजीनामा दिनुभएको छ । विभिन्न सरकारी विभागमा काम गर्ने क्रममा कर्मचारीलाई धम्की दिएको आरोपपछि उहाँले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।

सरकारी कर्मचारीसँग गरेको व्यवहारबारे औपचारिक उजुरीपछि राबले गएको नोभेम्बरमा नै जाँचको अनुरोध गर्नुभएको थियो । लगत्तै प्रधानमन्त्री ऋषि सुनकले वरिष्ठ वकिल एडम टालीलाई स्वतन्त्र अनुसन्धानको नेतृत्व गर्न नियुक्त गर्नुभएको थियो ।

राबले ट्विटमार्फत् प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामाको जानकारी गराउनुभएको छ । उहाँ आफ्नो व्यक्तिगत आचरणका कारण सुनक नेतृत्वको सरकारबाट राजीनामा दिने तेस्रो वरिष्ठ मन्त्री हुनुहुन्छ । यसअघि मन्त्रिपरिषद्का सदस्य गेभिन विलियम्सनले गएको नोभेम्बरमा राजीनामा दिनुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री सुनकले जनवरीमा कन्जरभेटिभ पार्टीका अध्यक्ष नाधिम जहावीलाई बर्खास्त गर्नुभएको थियो । गएको अक्टोबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि सुनकले ‘निष्ठा, व्यावसायिकता र जवाफदेहीता’ को सरकारको नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-२२ , समय : ०८:५२:१७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित