राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु

मिति: २०२३-०४-२१ , समय : १३:३८:०० , गामघर डेस्क

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ । दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका वडा न.–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।

यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोर कुमार रामले जानकारी दिनुभयो ।

छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिन थालेपछि अस्पताल भर्ना गरिएको मृतकका श्रीमती मञ्जुदेबी यादवले बताइन् । कारागार प्रशासनका अनुसार यो समेत गरी राजविराज कारागारका तीनजना कैदीको चैत यता मृत्यु भएको हो । यसअघि बैशाखमा ६९ वर्षीय पुरुषको र चैत महिनामा २४ वर्षीय युवकको मृत्यु भएको थियो ।

यता राजविराज कारागारकाे बन्दी क्षमता १५ महिलासहित १५५ जना रहेकोमा हाल ३ सय ९१ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा ८० वर्षीयसहित ६५ वर्ष नाघेका १० जना जेष्ठ नागरिक छन् । कारागारमा १ जटिल र १ सामान्य मानसिक रोगी, २ एचआइभी संक्रमित र २ जना पक्षघातबाट पीडित कैदीबन्दीसमत छन् । रक्तचाप, चिनी, दम र मुटुलगायतका २० जना दिर्घरोगी छन् ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : १३:३८:०० , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्