मलेसियामाथि नेपालको सानदार जित…..

एसिसी प्रिमियर कपमा कुशल मल्लले ४० बलमा ७० तथा भीम सार्कीले ९८ बलमा ७१ रनको योगदानमा नेपालले मलेसियालाई ८२ बलअघि नै हरायो

मिति: २०२३-०४-१९ , समय : ०६:५८:४९ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
घरेलु टोली नेपालले एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा मंगलबार मलेसियालाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको चिरपरिचित प्रतिद्वन्द्वी मलेसिया ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३५ रनको योगफल बनाएको थियो । नेपालले सहज देखिएको लक्ष्य ३६.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालले ८२ बलअघि नै जित निकालेको हो । समूह एमा नेपालले महत्वपूर्ण दुई अंक जोडेको छ । प्रतियोगिताको च्याम्पियनले पाकिस्तानमा हुने एसिसी कपमा सहभागिता जनाउने पाउनेछ ।

कुशलको विस्फोटक ब्याटिङ
नेपालको जितमा चार ब्याट्सम्यानले महत्वपूर्ण योगदान गरे । यसमा पनि पाँचौँ क्रममा ब्याटिङ गर्न आएका बायाँहाते ब्याट्सम्यान कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । कुशलले केवल ४० बलमा ७० रन बटुले । खेलमा उनी नै म्यान अफ दी म्याच भए । कुशलले समान पाँच चौका र छक्का प्रहार गरी १७५ को स्ट्राइक रेट राखे । उनी क्रिजमा आउँदा नेपाल २१.५ ओभरमा ११९–३ को अवस्थामा थियो ।

कुशलले भीम सार्कीसँग साझेदारी गर्दै मलेसियाको कमजोर बलिङको भरपूर फाइदा उठाए । दुवै ब्याट्सम्यानले मलेसियन बलरको कमजोरीमा मात्र बाउन्ड्री लगाए । दुवै ब्याट्सम्यानले केवल ८४ बलमा एक सय १२ रनको साझेदारी गर्दै नेपालको जित आधार तयार पारे । कुशलसँग शतकीय साझेदारी निर्वाह गरेका भीम जितभन्दा ६ रनअघि आउट भए । उनी विरन्दीप सिंहको ओभरमा क्याचआउट भए ।

अर्धशतकीय साझेदारी
मध्यक्रमका ब्याट्सम्यान तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्न पाएनन् । प्रशिक्षक मोन्टी देसाईले मध्यक्रममा भीमलाई मल्लको स्थानमा ब्याटिङ अर्डर दिए । भीमले आफूलाई प्राप्त जिम्मेवारी शतप्रतिशत निर्वाह गरे । उनले कप्तान रोहितकुमार पौडेलसँग तेस्रो विकेटका लागि ७६ बलमा ६६ रनको साझेदारी गरे । भीमले नेपालको जितमा अर्धशतकीय रूपमा ७१ रनको योगदान दिए । यद्यपि, उनले आफ्नो ब्याटिङ इनिङ्स सुस्त गतिमा गरेका थिए ।

अर्धशतक ठोकेलगत्तै उनले आफ्नो स्ट्राइक रेट सुधार गरे । नेपालको इसिङ्समा सर्वाधिक ७१ रनको योगदान दिएका भीमले एक छक्का पनि प्रहार गरेनन् । उनले पाँच आकर्षक चौका भने लगाए । रोहितले मध्यक्रममा भीमसँग रनिङ बिट विन द विकेटमा राम्रो देखाए । रोहितले प्राप्त अवसरमा मात्र बाउन्ड्री लगाए । रोहितले ४३ बलमा पाँच चौकाको सहयोगमा ४२ रन जोडे ।

पहिलो ओभरमै विकेट क्षति
दुई सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले इनिङ्सको पहिलो ओभरमै विकेट गुमाएको थियो । दोस्रो ओपनर आसिफ शेख इनिङ्सको छैटौँ बलमै कट एन्ड बोल्ड भए । मुहमद वाफिकले आसिफलाई कट एन्ड बोल्ड गरेका हुन् । उनी आउट हुँदा स्कोर बोर्डमा नेपालले केवल पाँच रन मात्र जोडेको थियो । त्यसपछि कुशल भुर्तेल र भीमले दोस्रो विकेटका लागि विस्फोटक रूपमा ४९ बलमा ४८ रनको योगदान दिए । यो साझेदारीमा भीमले २१ बलमा सात रन मात्र जोडेका थिए । कुशलले २८ बलमा ३७ रन जोडेका थिए । रिजवान हैदरको ओभरमा क्याचआउट हुनुअघि भुर्तेलले ३१ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाए ।

नेपालको ब्याटिङमा ६.२ ओभरमा ५० रन बनेको थियो । नेपालले १८.१ ओभरमा सय रन कटाएको थियो । २६.४ ओभरमा नेपालले स्कोर बोर्डमा एक सय ५० रन पूरा गर्‍यो । कुशल मल्ल र भीमबीचको आकर्षक ब्याटिङका कारण नेपालले ३१.४ ओभरमा दुई सय रन जोड्यो । भीम र कुशलले केवल ६९ बलमा शतकीय साझेदारी गरेका थिए ।

मलेसियन कप्तान फैजको ७६ रन
पहिलो ब्याटिङ गरेको मलेसियाका लागि कप्तान अहमेद फैजले ७६ रनको योगदान दिए । सुरुवात कमजोर भएको मलेसियाले दोस्रो विकेटका लागि कप्तान फैज र दोस्रा ओपनर विरन्दीपबीच एक सय १६ रनको साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले एक सय ६५ बलको सामना गरेका थिए ।

फैजले ९५ बलमा आठ चौका र एक छक्का प्रहार गरे । विरन्दीपले ९४ बलमा दुई चौका प्रहार गरी ४६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४० रनमा तीन तथा सन्दीप लामिछानेले ४८ रनमा तीन विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा एक मेडन ओभर फ्याँकेका थिए । नेपालका बलर सोमपाल ह्याट्रिक गर्नबाट चुके । इनिङ्सको ४६.२ र ४६.३ ओभरमा सोमपालले निरन्तर विकेट लिएका थिए ।

हङकङ आठ विकेटले विजयी
१८ वर्षपछि मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदा हङकङले समूह बीमा सिंगापुरमाथि आठ विकेटको उत्कृष्ट जित निकालेको छ । मूलपानी क्रिकेटमा पहिलो ब्याटिङ गरेको सिंगापुर ३२.१ ओभरमा एक सय ७४ रनमै अलआउट भयो । सिंगापुरका लागि कप्तान अरित्रा दत्तले सर्वाधिक ४९ रनको योगदान दिए । हङकङका लागि इहसान खानले १० ओभरमा तीन मेडन राखी २४ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यासिमले २५ रन खर्चंदै तीन विकेट लिए ।

हङकङको जितमा बाबर हयातले शतकीय इनिङ्स खेले । उनले ९४ बलमा एक सय आठ रन बनाए । यसक्रममा बाबरले १० चौका र ६ छक्का प्रहार गरे । ओपनर निजाकत खानले ८९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५१ रन बनाए ।

जितबाट नेपालको यात्रा सुरु
रोहितकुमार पौडेल कप्तान, नेपाल
हामीले एसिसी प्रिमियरमा जितबाट सुरुवात गरेका छौँ । यसै मैदानमा अघिल्लोपटक पनि जित निकालेका थियौँ । आज पनि जित नै प्राप्त भयो । म एकदम खुसी छु । नेपालको पावर प्लेमा राम्रो प्रदर्शन भएन । त्यसपछि ब्याट्सम्यानले खेलमा सुधार गरे । २५० रनभन्दा तलको लक्ष्य पाउँदा सहज हुन्छ । समग्रमा सोचेअनुसार नै प्रदर्शन भयो । ओमान समूहको सबैभन्दा बलियो प्रतिद्वन्द्वी हो । ओमानलाई हराउन सके नेपालको समूहमा शीर्ष स्थानमा रहने सम्भावना छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०४-१९ , समय : ०६:५८:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित