राष्ट्रपतिमा नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुग्ने ,राष्ट्रपति उम्मेदवार कांग्रेसबाट पौडेल निश्चित

मिति: २०२३-०२-२५ , समय : ०९:१५:११ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । आउँदो २५ गते हुने राष्ट्रपति चुनावमा नयाँ गठबन्धनका उम्मेदवार सुविधाजनक बहुमतका साथ विजयी हुने देखिएको छ ।

हिजो प्रतिनिधि सभामा रहेका आठ दल कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, लोसपा, जनमत र राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । यी सबै दलको मतभार जोड्दा कांग्रेसका उम्मेदवारले ३१ हजारभन्दा बढी मतभार पाउने सम्भावना देखिएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति चुनावमा ५२ हजार ६ सय २८ मतभार रहेकोमा त्यसको ५१ प्रतिशत अर्थात् २६ हजार ३ सय १५ मतभार ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार कांग्रेसको १६ हजार १४२, माओवादीको ७ हजार ७४५, एकीकृत समाजवादीको २ हजार ५७४, जसपाको १ हजार १४५, जनमतको १ हजार २ सय ४२, लोसपाको ९७१, नागरिक उन्मुक्ति पार्टीको ८९२ र जनमोर्चाको २०६ मतभार रहेको छ ।

यस्तै एमालेको १५ हजार तीन सय ९१ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार पाँच सय एक मतभार छ । राप्रपाको दुई हजार चार सय ५० मतभार तथा नेमकिपाको दुई सय २३ मतभार रहेको छ । स्वतन्त्रको सङ्घमा चार र प्रदेशमा नौ सदस्य गरी सात सय ४८ मतभार रहेको निर्वाचन आयोगको तथ्याङ्क छ ।

यसेबिच राष्ट्रपति उम्मेदवारबारे निर्णय गर्न दलहरु आन्तरिक छलफलमा जुट्दैछन् । आठ दलबीच हिजो भएको सहमतिअनुसार कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निश्चितजस्तै भएको छ । राष्ट्रपतिमा अर्का नेता कृष्णप्रसाद सिटौला आकाङ्क्षी रहे पनि पौडेलकै नाममा निर्णय हुने कांग्रेस नेताहरुले बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार छान्न आज बिहान साढे आठ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउनुभएको छ । राष्ट्रपतिमा पौडेल र सिटौलासँगै गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्माको नाम पनि चर्चामा छ । तर, सभापति देउवाले यसअघि नै वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन वचन दिइसक्नुभएको छ।

यस्तै राष्ट्रपतिको उम्मेदवार चयन गर्न एमालेको सचिवालय बैठक पनि बस्दैछ । एमालेबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन । यसअघि ईश्वर पोखरेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको नाम चर्चामा थियो । पछि पूर्व सहमतिअनुसार प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई समर्थन नगर्ने भएपछि अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गर्नुभएको थियो । तर हिजो एकीकृत समाजवादीलेसमेत कांग्रेसलाई समर्थन गर्ने गरी नयाँ सहमति बनेपछि राजनीतिले नयाँ मोड लिएको छ ।

माओवादीसँगको गठबन्धन टुटेपछिको अवस्थामा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र अन्योल छ । यसैबीच सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपतिको चुनावमा प्रस्ताव र समर्थक नबस्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ०९:१५:११ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित