चिनले गोप्य प्रहरी चौकी स्थापना गरेको अमेरिकाको आरोप, न्युयोर्कबाट २ जना चिनियाँ पक्राउ

मिति: २०२३-०४-१८ , समय : १४:५१:१२ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

अमेरिका ।
अमेरिकामा गोप्य प्रहरी चौकी सञ्चालन गरेको आरोपमा न्युयोर्कबाट दुई जना चिनियाँ पक्राउ परेका छन् । अमेरिकी अभियोजनकर्ताहरूले म्यानहट्टनको चाइनाटाउन नजिकै चिनियाँ गोप्य प्रहरी चौकी सञ्चालन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा न्युयोर्कमा बस्दै आएका ६१ वर्षका लु जिआनवाङ र ५९ वर्षका चेन जिन्पिङ रहेका छन् । लु चिनियाँ न्यायिक अधिकारीहरूसँग निकट रहेको खबरमा उल्लेख छ । दोषी प्रमाणित भएमा लु र चेन दुवैलाई २५ वर्षसम्मको जेल सजाय हुनसक्ने बीबीसीले जनाएको छ । यसअघि चीनले त्यहाँ प्रहरी चौकी खडा गरेको अस्वीकार गर्दै विदेशी नागरिकका लागि सेवा केन्द्रहरू स्थापना गरेको बताएको थियो ।

अमेरिकी न्याय मन्त्रालयले ब्रोन्क्समा बस्ने लु र म्यानहट्टनका चेनले अमेरिकामा चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको तर्फबाट पहिलो विदेशी प्रहरी चौकी स्थापना गर्न मिलेर काम गरेको आरोप लगाएको छ । चीनले यस्ता चौकीहरू बेलायत र द नेदरल्यान्ड्ससहित विश्वभर ५३ देशमा कम्तीमा एक सय वटा सञ्चालन गरेकाे बीबीसीले जनाएको छ । गएको महिना क्यानडाको सङ्घीय प्रहरीले मोन्ट्रियल–क्षेत्रका केही भागमा त्यस्ता प्रहरी चौकीमा अनुसन्धान गर्ने घोषणा गरेको थियो । एजेन्सीबाट

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १४:५१:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित