नेपालमा काेरोना संक्रमित थप एक वृद्धाकाे मृत्यु
मिति: २०२३-०४-१६ , समय : १२:४१:१५ , गामघर डेस्क
मिति: २०२३-०४-१६ , समय : १२:४१:१५ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
सेती प्रादेशिक अस्पताल धनगढीमा आइसियू (सघन उपचारकक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस संक्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो।
प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटुरोगले समस्या महिलाको पिसिआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पजिटिभ’ आएपछि ६ दिनअघि अस्पतालको कोभिड वार्डको आइसियूमा भर्ना गरिएको थियो।
संक्रमणदर उकालो लाग्दै
सुदूरपश्चिम प्रदेशमा केही हप्तादेखि कोरोना भाइरसको संक्रमणदर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा प्रदेशमा दुई सय २३ व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यो अवधिमा पिसिआर र एन्टिजेन पद्धतिबाट सात हजार ८४ जनाको नमुना परीक्षण गरिएको छ।
संक्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। गतको बिहीबार एकै दिन ३६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमणदर बढेसँगै ‘एक्टिभ केस’ (सक्रिय बिरामी) पनि बढेका छन्। हाल कैलालीमा २२ र कञ्चनपुरमा एक सक्रिय बिरामी छन्। भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बढ्न थालेको हो।
सीमानाका हुँदै भारतबाट भित्रिने बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिने गरेको छ। कोरोना बढ्दै गए पनि तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सर्वसाधारणबाट भइरहेको लापरबाहीले यो रोगको संक्रमण बढ्न सक्ने जोखिम देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।
सर्वसाधारणबाट तोकिएको मास्क प्रयोग नगरी जथाभावी रूपमा हिँड्ने, एक–आपसमा सामाजिक दूरी कायम नगर्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कमी–कमजोरी देखिएको छ।
सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाहीले कोरोना संक्रमणदर अझै बढ्न सक्ने बताए। ‘नमुना परीक्षण गराउनेहरू बढ्दा कोरोना ‘पजिटिभ’ बिरामी पनि बढ्न सक्छन्,’ उनले भने, ‘संक्रमण पुष्टि हुने व्यक्तिलाई चिकित्सकसँग सल्लाह लिन र होमआइसोलेसनमा बस्न सल्लाह दिने गरेका छौँ।’
सीमा क्षेत्र हुँदै भित्रिने संक्रमित नागरिकको हकमा निजकै घरठेगाना भएको पालिका तहलाई सीमाक्षेत्रमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत समन्वय गरेर जानकारी गराउने गरिएको छ।
तर, पालिका तहले संक्रमण रोकथामका लागि पहल गरे–नगरेको जानकारी नभएको स्वास्थ्यकर्मीले बताएका छन्। कोरानाको संक्रमण बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको छ।
सरकारले कोभिड– १९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ।
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने जनाइएको छ। कोरोनाको संक्रमण भएकाहरूले संक्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लिन मिल्ने जनाइएको छ।
कोरोना भाइरसको समस्या देखिएपछि हालसम्म सुदूरपश्चिममा ६ लाख ५४ हजार आठ सय १८ जनाको नमुना परीक्षण भइसकेको छ। यीमध्ये ६२ हजार दुई सयमा संक्रमण पुष्टि भएको छ। नयाँ पत्रिकाबाट
प्रकाशित मिति: २०२३-०४-१६ , समय : १२:४१:१५ , २ वर्ष अगाडि