पतारीमा निःसन्तान दम्पतीको मेला, सन्तानको आशमा पोखरीमा डुबुल्की
मिति: २०२३-०४-१५ , समय : १८:२४:४४ , मणिलाल विश्वकर्मा
मिति: २०२३-०४-१५ , समय : १८:२४:४४ , मणिलाल विश्वकर्मा
मणिलाल विश्वकर्मा
लहान ।
सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.– ३ स्थित पतारीपोखरीमा शनिबार दर्जनौं व्यक्तिले डुबुल्की मारे। हरेक वर्षझैं २ वैशाखमा निःसन्तान दम्पती र तिनका आफन्तले सन्तान प्राप्तिको भाकल गर्दै पतारी पोखरीमा डुबुल्की मारेका हुन्।
पूर्व–पश्चिम लोकमार्गको धनगढी बजारबाट करिब १० किलोमिटर दक्षिणमा पर्ने पतारी पोखरीमा सन्तान प्राप्तिको भाकलसहित आउने करिब तीन सय निःसन्तान दम्पतीको शनिबार बिहानैदेखि भिड लागेको स्थानीय शंकर विसीले बताए। यो पटक पनि मेलामा भारतको उत्तरी बिहारको पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका तराई र तराईले छोएका विभिन्न जिल्लाहरुबाट निःसन्तान दम्पती सन्तान प्राप्तिको भाकलसहित १८ घण्टासम्म ब्रत बसेर पोखरीमा डुबुल्की मार्न आएका उनले बताए।
१८ घण्टा ब्रतपछि डुबुल्की
करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर)को पूर्वी ढोकामा १ वैशाखको साँझदेखि निरन्तर १८ घण्टासम्म ब्रत बसेर भोलिपल्ट मध्यान्ह गहवरभित्र रहने विशेष पूजा (कोकिया गुहाइर)बाट अक्षता लिई गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हाम फालेर हेलिंदै पोखरी पार गर्नुपर्ने मान्यता रहेको छ।
गहवरका पूजारी ७७ वर्षीय माधव सिंहका अनुसार पोखरीमा हेलिएलगत्तै पहिलो डुबुल्कीमा पानीभित्र कुनै पनि जीव भेटिए ती महिलाको सन्तान हुने मान्यता रहेको छ। डुबुल्की मार्दा पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर कोहीसँग नबोली पोखरीबाट निस्किएलगत्तै गाउँको सीमा पार गरेपछि महिलालाई पछ्याउँदै जाने आफन्तले कपडा फेरिदिने गर्दछन्। कपडा फेरेर आफ्नो घर पुगेपछि मुठीमा ल्याएको जीवको बुटी बनाएर ब्रत बसेका महिलाले पाखुरा या घा“टीको मालामा राख्दा सन्तान प्राप्त हुने जनविश्वास रहेको छ।
वर्षको एक पटक पतारी पोखरीमा सन्तान माग्ने र सन्तान पाइसकेका दम्पतीहरुको विशेष भिड रहने लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरान्द ठाकुरले बताए। लक्ष्मीपुरपतारी– ३ का वडाध्यक्ष दिलिपकुमार सफीका अनुसार मनोकाङ्क्षा पूरा भएका दम्पतीहरु बोका, परेवा, लड्डु, पान सुपारी लिएर पोखरीमा पूजाका लागि पुग्ने गर्दछन्।
लोकनायक सलहेशकै समयमा राजा हरिसिंह देव बस्दै आएको पतारी पोखरी क्षेत्र वि.सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिएको पूजारी माधव सिंहले उल्लेख गरेका छन ।
प्रकाशित मिति: २०२३-०४-१५ , समय : १८:२४:४४ , २ वर्ष अगाडि