व्यक्तिगत घटना दर्ता सप्ताह सुरु : अनलाइन माध्यमबाट झण्डै ४८ लाख व्यक्तिगत घटना दर्ता
मिति: २०२३-०४-१४ , समय : ०८:३६:३५ , गामघर डेस्क
मिति: २०२३-०४-१४ , समय : ०८:३६:३५ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ ।
व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले वैशाख महिनाको पहिलो हप्ता अभियानका रुपमा व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरेको छ । नेपालले अर्को वर्ष सन् २०२४ सम्ममा जन्म र मृत्यु जस्ता व्यक्तिगत घटना दर्तालाई शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेद जस्ता घटनालाई ३५ दिनभित्र नजिकको वडा कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । यस्ता विवरण नियमित अद्यावधिक गर्न सकेमा नीति निर्माण, सेवा प्रवाह, विकास निर्माणलगायतका लागि आवश्यक परेको समयमा तथ्याङ्क प्राप्त गर्न सहज हुन्छ ।
पछिल्लो राष्ट्रिय जनगणना अनुसार ५ वर्ष वा त्यो भन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता हुने गरेको छ । अझै पनि २६ प्रतिशत बालबालिकाको जन्मदर्ता हुन बाँकी नै छ । अहिले ६ हजार ७ सय ४३ वडामध्ये ६ हजार ५ सय ७६ वडामा घटना दर्ता अनलाइनमा दर्ता हुने व्यवस्था छ ।
अनलाइन माध्यमबाट झण्डै ४८ लाख व्यक्तिगत घटना दर्ता भएको सरकारको तथ्याङ्क छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदका घटना गरी अहिलेसम्म ४८ लाख ४५ हजार ९ सय १३ व्यक्तिगत घटना अनलाइनमार्फत् दर्ता भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन जिम्मेवार निकायलाई आग्रह गर्नुभएकाे छ ।
प्रकाशित मिति: २०२३-०४-१४ , समय : ०८:३६:३५ , २ वर्ष अगाडि