संरक्षण अभावमा सप्तरीको प्राचिन ऐतिहासिक झुटकी पोखरी जिर्ण बन्दै
मिति: २०२३-०२-२४ , समय : १५:३८:२७ , शुभ नारायण यादब
मिति: २०२३-०२-२४ , समय : १५:३८:२७ , शुभ नारायण यादब
शुभ नारायण यादब
सप्तरी ।
सप्तरीको साबिक झुटकी गाविस वडा नं. ४ हाल राजगढ गाउँपालिका वडा न. १ मा अवस्थित प्राचीन झुटकी पोखरीको संरक्षण सम्वद्र्धन नहुदाँ जिर्ण अवस्थामा पुगेको छ ।
करिव २२ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक पोखरी चन्द्रदेवी पोखरीको नामबाट परिचित यस स्थलमा सन्तानोत्पादन, भूतप्रेतबाट मुक्तिका साथै विभिन्न रोगहरु निवारणका लागि नेपालको विभिन्न जिल्लाका साथै भारतबाट श्रद्धालुभक्तजनहरु यहाँ आउने गर्दछन् ।
जस्तोसुकै समस्या लिएर आउने भक्तजनहरुको सङ्कट चन्द्रदेवीले निवारण गर्ने गरेको स्थानीयवासिन्दाहरुको कथन छ । भाकल पुरा भएपछि मन्दिरमा पूजा–आजाका साथै खसी बोकाको बली प्रदान गरिन्छ ।
जतिबेला खानेपानीका लागि इनार, ट्युवेलको उपलब्धता थिएन, त्यतिबेला त्यसक्षेत्रका वासिन्दाहरु यस पोखरीकै पानी दैनिक जीवनमा प्रयोग गर्दथे । जुन परम्परा अहिले पनि कायमै रहेको छ । त्यस क्षेत्रका वस्तीहरुमा बाह्रै महिना कम से कम एकलोटा पानी हालेर खाना पकाउने गरिन्छ । यदि यस्तो गरिएन भने अनिष्ट हुने जनविश्वास रहेको छ । यसका अतिरिक्त भोजभत्तेर तथा विशेष अवसरहरुमा चन्द्रदेवी पोखरीको पानीको अनिवार्यता रहने गर्दछ ।
पोखरीमा सन्दुक (सामान राख्नका लागि प्रयोग हुने ठूलो बाकस) तथा राँगा निस्किने गरेको स्थानीय बुढापाकाहरुको कथन छ । उनीहरुका अनुसार पोखरीमा एक्लै प्रवेश गर्ने हिम्मत कसैले गदैन । परापूर्वकालदेखिको अति प्राचीन मानिएको यस पोखरीमा वि.सं. २०५० सालमा सप्तरीको जगमोहन गाउँबाट आएका धामी तनुकलाल चौधरीले देउता खेल्ने क्रममा पोखरीबाट एउटा पत्थर फेला पारेका थिए । उक्त पत्थरलाई पोखरीको डिलमा राखेर स्थानीयवासिन्दाहरुले चन्द्रदेवीको नामबाट पूजा–आजा गर्न थाले । मन्दिरमा दैनिक पूजा सम्पादनको जिम्मेवारी स्थानीय वयोवृद्ध बच्चालाल यादवले सम्हाल्दैआएका छन् ।
तत्कालीन शिक्षामन्त्री एवम् सांसद रेणु यादवको संसदीय विकास कोषको रकमबाट पोखरीको पश्चिमतर्फको डिलमा वि.सं. २०६६ साल साउन ४ गते मन्दिर निर्माण गरियो । यद्यपि उक्त मन्दिरको निर्माणकार्य भने हालसम्म पूरा हुन सकेको छैन । यसैगरी पूर्वतर्फ पक्की देवघर निर्माण गरिएको छ । जहाँ प्रत्येक वर्ष सिरुवा अर्थात नयाँवर्षका अवसरमा मूर्ति बनाइन्छ । उक्त अवसरमा दुई दिनसम्म भव्य मेला लाग्ने गर्दछ ।
प्रकाशित मिति: २०२३-०२-२४ , समय : १५:३८:२७ , २ वर्ष अगाडि