नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटक काठमाण्डाैमा

मिति: २०२३-०४-१३ , समय : १२:५८:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । नेपाल भ्रमणका लागि १ सय ८१ जना चिनियाँ पर्यटकहरु काठमाण्डाैमा आइपुगेका छन् । नेपालीहरुको नयाँ वर्षको पूर्वसन्धामा बिहीवार आज १ सय ८१ जनाको चिनियाँ पर्यटककाे समूह विमान चार्टर्ड गरेर काठमाण्डाै आइपुगेका हुन् । चिनियाँ पर्यटकहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्नु भएकाे हाे ।

हिमालय एअरलाइन्सको विमान चार्टर्ड गरेर १ सय ८१ जना चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा आएका हुन् । उनीहरुको करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यहरुमा घुम्नेछन् । मन्त्री सुदन किरातीले सञ्चारकर्मीहरुसँग नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटक आउने ढोका खुलेको बताउनु भयो । उहाँले कोरोना महामारीको कारण लामो समय नेपालमा समूहमा घुम्न प्रतिबन्ध खुला हुनुले नेपाल र चीनसँगको सम्बन्ध विस्तार भएको बताउनु भयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको पनि उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो,‘ कोरोना महामारीपछि समूहमा घुम्नसक्ने गन्तव्यको रुपमा खुला गरेको छ । समूहमा नेपाल घुम्न चीन सरकारले खुला गर्नु नेपाल र चीनबीचको सम्बन्ध बढ्छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि चीनको योगदानको प्रारम्भ भएको छ । सबैभन्दा बढी यो समूहमा आउने भन्ने छ । अहिले १ सय ८१ जना आउनुभएको छ । अब ढोका खुल्यो ।’

त्यस्तै, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले लामो समयपछि चीन सरकारले समूहमा नेपाल घुम्न अनुमति पछिको नेपाल भ्रमणमा पहिलो १ सय ८१ जना नागरिककाे चिनियाँ टोली आउनु स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले पहिलो समूहमा १ सय ८१ जना आएको र अब लगातार रुपमा ७ सय जना चिनियाँ पर्यटक आउने बताउनु भयो । उहाँले २०१९ मा १ लाख ६५ हजार नेपालमा चिनियाँ पर्यटक आएको बताउनु भयो । उहाँले चिनियाँ राष्ट्रपतिले भिजिट २०२० मा चीनबाट ५ लाख पर्यटक पठाउने भने पनि कोरोनाका कारण सफल हुन नसकेको बताउनु भयो । उहाँले यो वर्ष २०१९ को भन्दा बढी चिनियाँ पर्यटक नेपालमा पाउने अपेक्षा गरिएको बताउनु भयो । उहाँले पर्यटकहरुको नेपाल बसाइ एक हप्ता हुने बताउनु भयो ।

त्यस्तै, पर्यटन व्यवसायी सुदर्शन नेपालले चिनियाँ पर्यटकहरुको टोली हिमालय एअरलाइन्सको विमान चार्टर्ड उडानमार्फत् लगातार आउने तालिका रहेको बताउनु भयो । उहाँले अप्रिल १९ तारिखमा अर्को उडानमार्फत् आउने तालिका रहेको भन्दै पहिलो टोली भएकाले चीनमा सकारात्मक सन्देश दिनको लागि भव्य रुपमा स्वागत गरिको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक टोलीको ८ दिनको बसाइमा ३ दिन ट्रेकिङमा जाने र ४ दिन काठमाण्डाै पोखरा घुम्ने बताउनु भयो । उहाँले नयाँ वर्ष लागेसँगै चिनियाँ पर्यटकको आगमन भएकाले पर्यटक व्यवसायीहरुमा नयाँ आशा थपेको बताउनु भयो । उहाँले चिनियाँ पर्यटक नेपालमा बढेसँगै देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने देखिएको बताउनु भयो ।

कोरोना महामारीपछि चीन सरकारले मार्च १० बाट नेपाललाई गन्तव्यका सूचीमा राखेको थियो । नेपाल गन्तव्य देशमा परेपश्चात चार्टर्ड उडानमार्फत् नेपाल आउने पहिलो समूह रहेको छ । उनीहरुलाई नेपाल विग माउण्टेन ट्राभलमार्फत् आएका हुन् । उज्यालो

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १२:५८:०० , २ वर्ष अगाडि