रास्वपा पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बन
मिति: २०२३-०४-१० , समय : ०८:०७:०७ , गामघर डेस्क
मिति: २०२३-०४-१० , समय : ०८:०७:०७ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
आर्थिक लेनदेनको विवादास्पद टेलिफोन संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सांसदलाई तत्कालका लागि पार्टीबाट निलम्बन गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको विवादास्पद टेलिफोन संवाद सार्वजनिक भएपछि रास्वपाले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई छानबिन पूरा नभएसम्मका लागि निलम्बन गरेको हो । रास्वपाले भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने उद्घोष गर्दै आएको छ ।
रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार विवादित संवाद बाहिरिएपछि सांसद श्रेष्ठलाई निलम्बन गरेको बताए । सत्यतत्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय कमिटीमा प्रतिवेदन पेस गर्न केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको ढकालले बताए ।
‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम–कारबाही नगर्न–नगराउनसमेत श्रेष्ठलाई निर्देशन दिइएको छ,’ ढकालले जारी गरेको विज्ञप्तिमा छ, ‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ ।’
पार्टी सभापति रवि लामिछानेले सांसद श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयंले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । उपनिर्वाचनको प्रचारप्रसारमा बाराको गढीमाई पुगेका सभापति लामिछानेले ७२ घन्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने बताएका थिए । ‘पार्टीभित्र छानबिन हुँदै छ, त्यसबीचमा सांसद श्रेष्ठलाई कानुनी कारबाहीमा ल्याउन अनुसन्धानका लागि प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिनेछौँ,’ उनले भने ।
श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको विवादास्पद टेलिफोन संवाद आइतबार सार्वजनिक भएको थियो । अडियोमा श्रेष्ठले प्रसाईंसँग मिलेर स्वास्थ्य क्षेत्र सुधार्न काम गर्न चाहेको भन्दै पैसाको ‘डिल’ गरेका छन् । अडियोमा श्रेष्ठले तत्कालीन सातदलीय गठबन्धनको सरकारमा आफ्नो पार्टीले स्वास्थ्य मन्त्रालय पाउने र मन्त्री बन्नका लागि नेताहरूले साढे दुई करोड मागेको प्रसाईंसँग बताएका छन् ।
‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे दुईजति चाहियो भन्दै थिए । मेरो पक्का भयो, मैले आज फिक्स्ड गर्नु छ क्या सर । मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरूको सहयोग पनि चाहियो,’ श्रेष्ठले भनेका छन ।
सुरुदेखि नै रास्वपा सभापति रवि लामिछानेलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको श्रेष्ठले बताएका छन् । ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका दुई–तीनजना साथी हुनुहुन्छ । उहाँहरूलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ श्रेष्ठले प्रसाईंसँगको संवादमा भनेका छन् । उज्यालो
प्रकाशित मिति: २०२३-०४-१० , समय : ०८:०७:०७ , २ वर्ष अगाडि