दुई कराेड घुस काण्ड : रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

मिति: २०२३-०४-०९ , समय : २०:४०:१३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आज सार्वजनिक भएपछि उहाँलाई पार्टीले तत्कालका लागि निलम्बन गरेको हो ।

रास्वपाले पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको महामन्त्री डाक्टर मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ ।

‘छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ’, पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीले सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य/तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ । उज्यालो

प्रकाशित मिति: २०२३-०४-०९ , समय : २०:४०:१३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्