बदलियो विमानस्थलबाट हुने सुन तस्करीको शैली…..

‘स्प्रे’ र तरल बनाई हुन थाल्यो सुन तस्करी, ५७ महिनामा अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र तस्करीको डेढ क्विन्टल सुन बरामद

मिति: २०२३-०४-०५ , समय : ०६:३९:०६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं ।
कुवेतबाट जजिरा एयरमा काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेरले गन्जीमा स्प्रे गरेर ल्याएको सुन
घटना १ : कुवेतबाट जजिरा एयरको जहाज हुँदै काठमाडौं आएका भारतीय नागरिक ४१ वर्षीय फैजन अनवेर १७ फागुनको बिहान २:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । लगेजसहित आएका उनी विमानस्थलको आगमन कक्षबाट सरासर बाहिरिए । उनी नीलो पाइन्टमा थिए, तर उनको पहिरन अस्वाभाविक देखिन्थ्यो । शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो । कुनै गल्ती नगरेको भन्दै उनी प्रहरीसँग कट्किए । शरीरबाट कपडा पालैपालो उतारियो । पाइन्ट र उनले लगाएको गन्जीको तौल अस्वाभाविक देखियो । प्रहरीले पाइन्टको भित्री भाग उल्टायो, तर केही भेटिएन । त्यसवेलासम्म फैजन गलेका थिएनन् । जब प्रहरीले पाइन्टको सिलाइ उधार्न थाल्यो, बल्ल उनी गल्न थाले । किनकि पाइन्टभित्र सुनले ‘स्प्रे’ गरिएको यस्तो पत्र थियो, जुन उनले कुवेतदेखि लगाएर आएका थिए । प्रहरीले उनको गन्जीको सिलाइ पनि उधार्‍यो । त्यसभित्र पनि सुनले ‘स्प्रे’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनको पाइन्ट र गन्जीभित्र मात्रै ‘स्प्रे’ गरिएका एक किलो दुई सय ग्राम सुन फेला परेको थियो ।

घटना २ : कपडाभित्र ‘स्प्रे’ गरी सुन तस्कर गर्ने भारतीय नागरिक ३९ वर्षीय जयकुमार जगदीश पनि हुन् । उनलाई गत २४ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक उडानतर्फ पक्राउ गरिएको थियो । उनी बुद्ध एयरको उडानबाट नेपालगन्ज जाँदै थिए । विमानस्थलस्थित ‘एक्स रे मेसिन’मा उनको ‘ह्यान्ड ब्यागेज’ हालियो । ब्यागेजभित्र सिक्रीजस्तो शंकास्पद वस्तु देखियो । प्रहरीले ब्यागेज नियन्त्रणमा लियो । र, एक–एक गर्दै ब्यागेजभित्रका सामग्री जाँच गर्‍यो । नभन्दै कपडाभित्र सुनको सिक्री फेला पर्‍यो । खोतल्दै जाँदा प्रहरीको हातमा एउटा ‘अन्डरवेयर’ फेला पर्‍यो, जसको तौल स्वाभाविक थिएन । प्रहरीले ‘अन्डवेयर’को सिलाइ उधार्न थाल्यो । नभन्दै ‘अन्डरवेयर’को ‘फल्स बटम’भित्र सुनले ‘स्प्रे’ गरिएको अर्को पत्र भेटियो । प्रहरीका अनुसार उनले ‘अन्डरवेयर’भित्र मात्रै पाँच सय १० ग्राम सुन ‘स्प्रे’ गरी राखेका थिए । जसलाई उनी भारत लैजाँदै थिए ।

घटना ३ : गत ८ कात्तिकमा पनि ‘स्प्रे’ गरिएको ४२९.८२ ग्राम सुनसहित भारतीय नागरिक ३९ वर्षीय मोहम्मद कसिम पक्राउ परे । उनी नेपाल एयरलाइन्सको जहाज हुँदै दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका थिए । उनले कार्टुन बक्सको भित्री तहमा ‘स्प्रे’ गरी सुन ल्याएका थिए । उनलाई प्रहरीले विमानस्थलबाट बाहिरिँदै गर्दा पक्राउ गरेको थियो । शंकास्पद उनलाई ‘एक्स रे मेसिन’मा राखेर चेकजाँच गर्दा मलद्वारमा समेत सुनका दुईवटा ‘क्याप्सुल’ भेटियो । क्याप्सुल गाल्दा २५०.८५ ग्राम सुन फेला परेको थियो । जसलाई उनी भारत लैजाने तयारीमा थिए ।

माथिका तीन घटनाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको, तर शैली बदलिएको देखाउँछ । ३८ क्विन्टल सुन तस्कर प्रकरणले पाँच वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन, मुलुक नै तरंगित बनेको थियो । घटनामा जोडिएका ४५ भन्दा धेरै अभियुक्त पक्राउ परे, तर तस्करी रोकिएको छैन । शैली भने बदलिएका छन् । जसमा अधिकांश भारतीय नागरिक प्रयोग भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकारीहरू तस्करीकै शैली बदलिएको बताउँछन् । कार्यालयका निमित्त प्रमुख एसएसपी लालमणि आचार्यले पछिल्ला दिन तस्करीको शैली बदलिएको घटना सतहमा आएको बताए । उनले भने, ‘विमानस्थलबाट सुन विभिन्न तौरतरिकाबाट तस्कर हुने गरेको विभिन्न घटनाले पुष्टि गर्छ । विशेषगरी पछिल्लो समय ‘स्प्रे’ गरिएका सुन तस्करी हुने गरेको देखिएको छ । केही अभियुक्त पक्राउ पनि परेका छन् । उनीहरूले पाइन्ट, अन्डरवेयर, लगाएका वस्त्रमा ‘स्प्रे’ गरेर सुन तस्करी गर्ने गरेको फेला परेको छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत दीपेन्द्र चौरसिया विमानस्थलबाट हुने सुन तस्करीको शैलीमा परिवर्तन भएको बताउँछन् । ‘विमानस्थलबाट हुने सुन तस्करीको शैली बदलिएका छन् । विगतमा बिस्कुट आकारमै सुन आउँथे । अहिले तरल तथा ‘स्प्रे’ गरिएका सुन आउन थालेका छन् । विमानस्थलस्थित प्रहरी र भन्सार कार्यालयका टोलीले यस्ता घटनामा संलग्न अभियुक्त पक्राउ गरेको छ । घटना विश्लेषण गर्दा तस्करीको शैली बदलिएको देखिन्छ,’ उनले भने ।

भन्सार कार्यालयका अधिकृत चौरसियाले विमानस्थलबाट हुने सुन बरामदको घटना बढेको बताए । उनले भने, ‘विमानस्थलबाट बरामद हुने सुनको परिमाण हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले धेरै देखिन्छ । तथ्यांक विश्लेषण गर्दा विमानस्थलबाट हुने सुन तस्करी कुनै न कुनै रूपमा भइरहेको देखिन्छ । नियन्त्रण गर्न प्रहरी र भन्सार कार्यालय सक्रिय रहनुपर्छ ।’

अर्ध ठोसमा पनि हुन्छ तस्करी
गत ८ पुसमा फ्लाई दुबईको उडानबाट अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका २७ वर्षीय सुडानी नागरिक मोहम्मद अहमद डाफल्लाको शरीर खनतलासी गर्दा ज्याकेटभित्र अर्ध ठोस अवस्थाको पहेँलो पदार्थ भेटियो । परीक्षणमा उक्त अर्ध ठोस पदार्थ सुन रहेको खुल्यो र तौल १९ किलो भेटिएको थियो । त्यस्तै, गत १९ माघमा फ्लाई दुबईकै उडानबाट अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका क्यालेनियन नागरिक ३५ वर्षीय मोहम्मद कमल महगोबको शरीर जाँच गर्दा उनको पेटीभित्र अर्ध ठोस अवस्थाको आठ किलो १७८.८० ग्राम सुन फेला पर्‍यो । भन्सार कार्यालयका अनुसार पक्राउ परेका डाफल्ला र महगोब एउटै गिरोहका सदस्य हुन् । उनीहरूले बरामद सुन स्थलमार्ग हुँदै भारत लैजाने तयारी गर्दै थिए ।

अन्डरवेयरमा स्प्रे गरेर ल्याएको सुन
विमानस्थलबाट तस्करी दर बढ्यो, समग्रमा सुन बरामद दर घट्दो
काठमाडौं उपत्यकाभित्रबाट गत ५७ महिनामा भन्सार कार्यालय र प्रहरीले साढे एक क्विन्टल (१५९.२६ किलो) सुन बरामद गरेको छ । जसमध्ये ८५ प्रतिशत सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएका छन् । हालको बजार भाउअनुसार बरामद सुनको मूल्य एक अर्ब ४४ करोड ६७ लाख ७२ हजार पाँच सय ७० रुपैयाँ पर्छ ।

तथ्यांकअनुसार तस्करीको दर विगत वर्षको तुलनामा पछिल्लो वर्ष बढेको छ । विमानस्थल भन्सार कार्यालयबाट आर्थिक वर्ष ०७८/७९ मा विमानस्थलबाट २० किलो ३२४.७४ ग्राम सुन बरामद भएको थियो । चालू आवको नौ महिनामै विमानस्थलबाट ४० किलो ९४१.४२ ग्राम सुन बरामद भएको छ । यो दर अघिल्लो आर्थिक वर्षको तुलनामा १०१.४३ प्रतिशतले धेरै हो । जसले विमानस्थलबाट हुने सुन तस्करी नरोकिएको बरु स्वरूप बदलेर शतप्रतिशत बढेको देखाउँछ ।

अर्कोतर्फ नेपाल प्रहरीको तथ्यांकले बरामद सुनको दर घट्दै गएको देखाउँछ । प्रहरीले गत आर्थिक वर्षमा मुलुकभरबाट ३७ किलो ४५७ ग्राम सुन बरामद गरेको थियो । चालू आवको माघ मासान्तसम्म मुलुकभरबाट नौ किलो ४७८ ग्राम मात्रै सुन बरामद गरेको छ । त्यस्तै, आव ०७७/७८ मा मुलुभरबाट ३६ किलो ३३४ ग्राम र आव ०७६/७७ मा ६० किलो ८१५ ग्राम सुन बरामद गरेको थियो । जब कि प्रहरीले मुलुकभरबाट आव ०७५/७६ मा दुई सय १३ किलो ८९७ ग्राम सुन बरामद गरेको थियो । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०६:३९:०६ , २ वर्ष अगाडि