मधेश प्रदेश : बाटोमा हिँडिरहेकी महिलाको रुखले किचिएर मृत्यु

मिति: २०२३-०४-०३ , समय : १६:२८:४२ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुर ।
मधेस प्रदेशकाे सर्लाहीमा रुखले किचिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको मलंगवा नगरपालिका वडा न.६ खुटौनामा रुख ढाल्दा बाटोमा हिँडिरहेकी एक महिलाको सोमबार मध्यान्ह किचिएर मृत्यु भएको हो ।

आज मध्यान्ह ११ः३० बजेतिर बाटो छेउमा रहेको मसलाको रुख काट्दै गर्दा अचानक रुख ढलेर किच्दा अन्दाजी ४५÷५० वर्षको जस्तो देखिने पैदलयात्रु महिलाको मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन् ।

उनी तराई मुलको जस्तो देखिन्छिन् ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार मृतक महिलालाई स्थानीयले चिनेका छैनन् । मृतकको साथबाट भारतीय रुपैयाँ बरामद भएकाले उनी नेपालस्थित आफन्तकहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।

लापरवाही ढङ्गले रुख लढाउने व्यक्ति फरार भएका छन् । रुख काट्ने व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १६:२८:४२ , २ वर्ष अगाडि