मन्त्रालय भागबन्डामा सहमतिसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने....
मिति: २०२३-०३-३० , समय : ०७:३९:२६ , गामघर डेस्क
मिति: २०२३-०३-३० , समय : ०७:३९:२६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । मन्त्रालय भागबन्डामा सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्तागठबन्धनमा रहेका ११ मध्ये तत्काल नौ दल सरकारमा सहभागी हुने गरी मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
गठबन्धनमा कसले कति मन्त्रालय पाउने टुङ्गो लागेको छ । तर, कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे टुङ्गो लाग्न बाँकी छ । यस विषयमा आज छलफल गरी टुङ्गो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । कुन मन्त्रालय कसले पाउने भन्ने प्रस्ताव ल्याउन प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको गठबन्धनका नेताहरुले बताएका छन् ।
हिजो बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ । जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सहभागी नभए पनि सत्तागठबन्धनले उसका लागि तीन मन्त्रालय सुरक्षित राखेको छ ।
यस्तै, आज मन्त्रिपरिषद् विस्तारसँगै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक गर्ने सत्ता गठबन्धनको तयारी छ । साझा कार्यक्रमको मस्यौदामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, देशको स्वाधीनता र राष्ट्रिय हितको संवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचार, नागरिकतालगायत अत्यावश्यक ऐन निर्माणका मुद्दा समेटिएका छन् ।
यसैबीच, आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले मन्त्रीको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ। उज्यालो अनलाइनबाट
प्रकाशित मिति: २०२३-०३-३० , समय : ०७:३९:२६ , २ वर्ष अगाडि