मधेस प्रदेशका मुख्यमन्त्री यादव आकस्मिक अनुगमनमा

मिति: २०२३-०३-२९ , समय : १७:३८:५७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधामको सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा बाधक हुने जो कोहीलाई कारबाही हुने चेतावनी दिनुभएको छ ।
उहाँले मंगलबार राति जनकपुरधाम प्रादेशिक अस्पतालमा आकस्मिक अनुगमन गर्ने क्रममा यस्तो चेतावनी दिनुभएको हो । अस्पतालको ल्याबमा कार्यालय सहयोगीले जाँच गरेको खबर आएदेखि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता एवम् तदारुकता देखाउनुभएको हो ।
उहाँले मंगलबार राति ११ बजेतिर प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक लगायत अन्य कक्षको अनुगमन गर्नुभयोे । अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरुलाई बिरामीको उपचारमा कुनै पनि प्रकारको लापरबाही सह्य नहुने बताउनुहुँदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिनुभयो ।
यसअघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधामको अनुगमन गर्ने क्रममा अनुपस्थित रहेका निर्देशक डा. प्रमोद कुमार यादवलाई कारबाही गरिसक्नुभएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा अघिल्लो समय सेवा प्रवाहमा लापरबाही भएको जनगुनासो बढ्दै गएपछि मुख्यमन्त्री यादवले सेवा सुधारतर्पm पहल गर्नुभएको छ ।
रेफर हाँस्पिटलको ट्याग हटाएर प्रादेशिक अस्पताल जनकपुरधाममा प्रभावकारी सेवा सुलभ तरिकाले उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री यादवले भन्नुभयो–अस्पतालमा लापरबाहीको ठाउँ छैन् ।
चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जान्छ, उहाँले भन्नुभयो–डाक्टर भगवानको रुप हो भने व्यवहारमा उतारेर देखाउनुपर्छ । काम गर्न नचाह्ने डाक्टरसाबहरु अन्यत्र जान सक्नुहुन्छ, उहाँले भन्नुभयो–सरकारी सेवा सुविधा लिने डाक्टर साबहरुले काम पनि सरकारकै गर्नुपर्छ ।
प्रादेशिक अस्पतालले गुमाएको साख जोगाउनको लागि डाक्टरसहित अन्य कर्मचारीहरु पनि प्रतिबद्ध भएर काम गर्नुपर्छ, मुख्यमन्त्री यादवले भन्नुभयो । जनकपुर अंचल अस्पतालबाट प्रादेशिक अस्पताल हुँदै हाल नाम नफेरिएपनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा छ । प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साह, रेक्टर डा. अंकुर साह र रजिष्टार डा. बिनोद यादवले हाल प्रादेशिक अस्पताल जनकपुरधामको व्यवस्थापन पक्ष हेर्दै आउनुभएको हो ।

प्रकाशित मिति: २०२३-०३-२९ , समय : १७:३८:५७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित