सिंचाई अभावमा पनि सप्तरीका दक्षिणी भेगका किसानहरु चैते धान रोप्नमा ब्यस्त

मिति: २०२३-०३-२५ , समय : १२:४२:२८ , शुभ नारायण यादब

तस्बिर : गामघर टिभिबाट

शुभ नारायण यादब

राजविराज । समयमा वर्षा नभएका कारण धान रोपाइँ गर्न नपाएका सप्तरीका किसानहरुलाई यतिबेला चैत्र महिनाको शुरुवातसँगै अहिले चैते धान लगाउन चटारो परेको छ ।
चैते धान रोपाइँका लागि गाउँबस्तीका पुरुष तथा महिलाहरु बिहानदेखि साँझसम्म खेतमै बित्ने गरेको छ । कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमित रुपमा पानी आउने नआउनेबारे अनिश्चितता भए पनि पम्पीसेट, भपलेटर, मोटर आदी बैकल्पिक माध्यमबाट चैते धान लगाउनका लागि उनीहरु हौस्सिएका हुन् ।
सप्तरीको साबिक ईहटरी विष्णुपुर, बरही बिरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमाननगर, भारदह, इनर्वा, महदेवा, देउरी भरुवा, बोरिया, नर्घाे, झुटकी, बनैनियाँ सहितका गाविसहरुमा चैते धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
यस अघिका वर्षहरुमा नहरहरुमा समयमा पानी नदिने गरिएका कारण सप्तरीका किसानहरु चैते धान (गर्मा) खेतीबाट विस्तारै बिमुख हुँदै गएकोमा मंसिरे धान समेत नभएकोले चैते लगाउन आफूहरुलाई भ्याइ–नभ्याइ भएको जिल्लाको साबिक बरही बीरपुर हाल छिन्नमस्ता गाउँपालिका वडा न. १ का कृषक वौआ लाल यादव बताउँछन् । बैकल्पिक बालीको रुपमा मानिएको चैते धान खेती गर्ने किसानहरुलाई सरकारले समयमा पानीको सुनिश्चितता सम्म गर्न सकेको छैन– उनी भन्छन्– जिल्लामा दुई दुईओटा नहर छन् तर चैते धानका लागि पानी आउने नआउने सुनिश्चितता छैन, त्यसैले हामीहरु सिंचाईका लागि बैकल्पिक माध्यमहरुको भर पर्नु बाहेक विकल्प नै छैन ।
यसपाली सुख्खा खडेरीका कारण धान खेती हुन नसकेका कारण बाध्य भएर चैते धान लगाउन थालेको उनी बताउँछन् । चैते धान राम्रो सप्रियो भने वर्षभरिका लागि घर परिवार धान्न सजिलो हुने बताउँदै उनी भन्छन्– पम्पीङ्गसेट, भपलेटर डिजेल तथा मट्टीतेलबाट चल्ने गर्दछ, त्यसमा पनि समयमा पाइदैन, महँगो खरिद गर्नुपर्ने बाध्यता छ ।
यस्तै दुःखेसो सुनाउँछन् सप्तरीको ईटहरी विष्णुपुर–५ का अर्का किसान सुर्य नारायण यादव । नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषिमा लगानी हुन नसकेकोले व्यसायीक रुपमा खेती हुन नसकेको उनको गुनासो रहेको छ । चैते धान लगाउन निक्कै मेहनत र लागत लाग्ने गर्दछ तर उब्जाउ भएपछि धानको उचित मोल समेत निर्धारण हुन नसक्दा हामी जस्ता निम्न वर्गीय किसानहरु मारमा पर्ने गर्दछौं– उनी थप्छन्– गत वर्ष ५ कठामा मात्र चैते धान खेती गरेकोमा यसपाली थप पाँच कट्ठामा चैते धान लगाएको छु, नहरमा पानी आउने सुनिश्चितता भईदिएको भए कम्तिमा एक–डेढ बिगहामा खेती गर्थे ।
नहर मर्ममको नाममा भारत सरकारले समयमा पानी नदिए पछि पानीको अभावमा चैते धान यस अघिका वर्षहरुमा पूरै प्रभावित भएको स्मरण गर्दै उनी भन्छन्– गत वर्षको मेहनत त्यसै खेर गयो, केही उलब्धी भएन, कतिपय किसानहरुले चैते धान खेती छाडी दियो तर यसपाली पानी देला कि नदेला ठेगान छैन ।
तेस्रो प्रमुख बालीको रुपमा रहेको चैते धान खेतिमा २०५९ साल यता ह्रास हुँदै आएकोेमा यसवर्ष धानबाली राम्रो नभएका कारण चैते धान खेती गर्ने किसानहरुको सङ्ख्या बढ्ने जिल्ला कृषि विकास कार्यालयका नासु दिनेश प्रसाद यादवले बताउँछन् । यसपाली कम्तिमा पाँच हजार हेक्टरमा चैते धान खेति लगाईने उनको अनुमान रहेको छ । किसानहरुलाई कमसेकम सिंचाईको भरपर्दो सुविधा भई दिएको भए चैते धान खेतीतर्फ उनीहरुको आकर्षण बढ्ने निश्चित रहेको उनको भनाइ छ ।
हाल जिल्लाको दक्षिणि भेगमा हुँदै आएको चैते धान खेतीका लागि किसानहरुले सिंचाईका बैकल्पिक माध्यमहरुको भर पर्नु परेको यादवले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : १२:४२:२८ , २ वर्ष अगाडि