सप्तरीको छिन्नमस्तामा स्कोरपिओ भाडा र इन्धनमै २८ लाखभन्दा बढी खर्च गरेको खुलासा….

मिति: २०२३-०३-२३ , समय : ०९:०१:२३ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सरकारको वित्त सन्तुलन कायम राख्न अर्थ मन्त्रालयले विभिन्न शीर्षकमा खर्च कटौती गर्न गरेको निर्णयअनुसार गत माघ १७ गते स्थानीय तहलाई परिपत्र गरेको छ । तर, विलासितामा होमिएका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु भने अर्थको परिपत्रलाई बेअर्थ नै बुझ्ने गरेको पाइएको छ ।

परिपत्रमा इन्धन, मर्मत सम्भार, भ्रमण, अन्य भत्ता, विविध खर्च, कर्मचारी तालिम, गोष्ठी लगायतका शीर्षकमा २० प्रतिशत खर्च कटौती गर्न भनेको छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले स्कोरपिओ भाडा र इन्धनमै मासिक ४ लाख रुपैयाँ खर्च गर्ने गरेको पाइएको हो ।

गाउँपालिकाले दुई वटा स्कोरपिओ भाडामा लिएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले एउटा स्कोरपिओ चढिरहेका छन् छ भने अर्को प्रमुख प्रशासकीय अधिकृत ललनकुमार यादवले चढ्दै आएका छन् । गत भदौदेखि नै दुवै स्कोरपिओको दैनिक ४–४ हजारको दर (इन्धन बाहेक)ले भाडामा लिएको हो ।

जसअनुसार गाउँपालिकाबाट स्कोरपिओ भाडामा मात्रै मासिक २ लाख ४० हजार रुपैयाँ खर्च हुँदै आएको छ । भदौंदेखि फागुनसम्ममा १४ लाख ४० हजार रुपैयाँ स्कोरपिओ भाडामा खर्च भएको छ ।

त्यस्तै, इन्धनमा पनि मासिक १ लाख ६४ हजार रुपैयाँ खर्च हुँदै आएको छ । गाउँपालिकाले गत जेष्ठदेखि फागुन १५ गतेसम्ममा इन्धनमा १४ लाख रुपैयाँ खर्च गरेको पाइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवले पनि दुई वटा स्कोरपिओ भाडामा लिइएको बताए । ‘एउटामा अध्यक्ष ज्यू चढ्नुहुन्छ भने अर्को स्कोरपिओ कार्यालय प्रयोजनको लागि हो’ अर्थ मन्त्रालयको परिपत्रअनुसार खर्च कटौती गर्ने तपाईहरुसँग कुनै योजना छ? भन्ने प्रश्नमा उनले भने, ‘खर्च कटौती गर्ने योजना त छ तर इन्धन महंगो पर्ने गरेकोले खर्च त भइहाल्छ ।’

उता, गाउँपालिका अध्यक्ष चौधरीले अध्यक्षको सेवा सुविधा अन्तर्गत स्कोरपिओ भाडामा लिएको बताए । मधेस लाइभबाट

प्रकाशित मिति: २०२३-०३-२३ , समय : ०९:०१:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्