रवि लामिछानेमाथि राहदानी दुरुपयाेगकाे मुद्दा नचल्ने
मिति: २०२३-०३-२१ , समय : ०५:२२:२२ , गामघर डेस्क
मिति: २०२३-०३-२१ , समय : ०५:२२:२२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ ।
महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज साेमवार लामिछानेमाथि मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गर्नुभएको महान्याधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिनुभयो ।
महान्यायाधिवक्ताको निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन् । प्रहरीले प्रमाण नपुग्ने बताएको तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ र उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि मुद्दा नचल्ने निर्णय भएर आएकोले महान्यायाधिवक्ताले पनि मुद्दा नचल्ने निर्णय गर्नुभएको रेग्मीले बताउनुभयो ।
लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो । सर्वोच्च अदालतले यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो । त्यस फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसक्नुभएको छ ।
प्रकाशित मिति: २०२३-०३-२१ , समय : ०५:२२:२२ , २ वर्ष अगाडि