स्थानीय निकायकाे भद्रगोल अवस्था : कार्यालय समयमा कर्मचारी गायब, किसानहरू समस्यामा

मिति: २०२५-०४-२२ , समय : १४:२४:०७ , नविन निर्भय यादव

तस्बिर : सामाजिक सन्जालबाट

नविन निर्भय यादव

राजविराज ।
सप्तरीकाे तिलाठी कोईलाडी गाउँपालिकाको कृषि शाखामा देखिएको चरम लापरवाहीका कारण स्थानीय किसानहरू अत्यन्त प्रभावित भएका छन्। कार्यालय प्रमुख उदेकान्त झा सहित अन्य कर्मचारीहरू कार्यालय समयमा उपस्थित नहुँदा किसानहरू कृषि सम्बन्धी अत्यावश्यक सेवा तथा सूचना लिनबाट वञ्चित भइरहेका छन्।
वाड नम्बर ७ निवासी रमबिलास मंडलका अनुसार कृषि शाखामा कुल चार जना कर्मचारी कार्यरत छन्। तर, प्रमुख झा लगायत अन्य कर्मचारीहरू आफ्नै निजी काममा व्यस्त रहने गरेको स्थानीय किसानहरूको गुनासो छ। सरकारी कार्यालयमा हुने यो प्रकारको लापरवाही किसानहरूको हकमा गम्भीर समस्या बनिरहेको छ।
सबैभन्दा गम्भीर पक्ष भनेको कार्यालयले किसानहरूलाई कुन महिनामा कुन कृषि सामग्री आउने भन्ने आवश्यक जानकारी प्रदान नगर्नु हो। सूचना पारदर्शी नभएको कारण किसानहरू सरकारी योजनाहरूको लाभबाट वञ्चित भइरहेका छन्। कृषिमा निर्भर रहेका नागरिकहरू समयमा आवश्यक सामग्री तथा सहायता नपाउँदा निराश भएका छन्।
कृषि कार्यालय प्रमुख उदेकान्त झासँग यस विषयमा बुझ्दा उनले आफू कार्यालय समयमा बाहिर रहेको स्वीकार गरे। उनले ११ बजे कार्यालय पुग्ने बताए तर अन्य कर्मचारीहरू किन समयमा उपस्थित नभएका छन् भन्नेबारे भने कुनै स्पष्ट प्रतिक्रिया दिएनन्। स्वयं प्रमुख नै समयमा कार्यालयमा नबस्दा अन्य कर्मचारीहरूको लापरवाहीलाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न उठेको छ।

प्रकाशित मिति: २०२५-०४-२२ , समय : १४:२४:०७ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित