अस्पतालको आईसीयूमा रहेकी एयरहोस्टेसमाथि यौन दुर्व्यवहार भएको खुलासा

मिति: २०२५-०४-१७ , समय : ०९:२४:१० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

काठमाडौं ।
भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एक एयरहोस्टेसमाथि अस्पतालमै यौन दुर्व्यवहार भएको छ । भारतकै निकै चर्चित अस्पतालमा गनिने ‘मेदान्ता’मा उक्त घटना भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालकै एक कर्मचारीले आईसीयूमा रहेकी ती महिलालाई यौन दुर्व्यवहार गरेका हुन् । सार्वजनिक भएको घटना विवरण अनुसार एयरहोस्टेस एक महिना लामो प्रशिक्षणका क्रममा गुरुग्राम आएकी थिइन् । तालिमकै क्रममा उनी पौडी खेल्दै गर्दा डुबेकी थिइन् ।
त्यसपछि उद्धार गरी उनलाई मेदान्ता अस्पतालमा भर्ना गरिएको थियो । ५ अप्रिलका दिन उनी सो अस्पतालको दोस्रो तलामा रहेको आईसीयूमा थिइन् । सोही क्रममा अस्पतालका एक पुरुष कर्मचारी उनको हातमा ‘ब्यान्ड’को साइज नाप्ने बहानामा आएर यौन दुर्व्यवहार गरेको बताइएको छ ।

मुखमा नली लगाइएका कारण पीडित महिला बोल्न नसके पनि टाउको हल्लाएर प्रतिवाद गर्न खोजेपछि ती कर्मचारी भागेको पीडित पक्षको भनाइ छ । आईसीयूमा दुई जना नर्स रहे पनि उनीहरूले बेवास्ता गरेको पीडित महिलाले जनाएकी छन् ।

उपचारपछि निको भएर ती महिला आफू बसेको रुममा फर्किइन् र पतिलाई उक्त घटनाबारे बताइन् । दम्पतीकै सहमतिमा उक्त घटनाबारे प्रहरीमा उजुरी गरिएको छ । त्यसलगत्तै प्रहरीले पीडितको मेडिकल टेस्ट गराउनका साथै मंगलबार सरकारी वकिलको कार्यालयमा बयानसमेत गराएको छ । प्रहरीले अस्पतालको सीसीटीभी फुटेज निकालेर अनुसन्धान थालेको छ ।

अस्पताल प्रशासनले घटनाको अनुसन्धानमा प्रहरीलाई पूर्ण रुपमा सघाउने प्रतिबद्धता जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा घटना भएको भनिएको समयको सीसीटीभी फुटेज र विभिन्न दस्तावेज प्रहरीलाई उपलब्ध गराइएको उल्लेख छ । एजेन्सी

प्रकाशित मिति: २०२५-०४-१७ , समय : ०९:२४:१० , 2 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित