आन्दोलनरत शिक्षकहरुकाे माग सम्बोधन गर्न सरकार तयार : कार्यथलोमा फर्किन आग्रह

शिक्षकहरूको मागलाई वार्ताबाट समाधान गर्न मानव अधिकार आयोगकाे आग्रह

मिति: २०२५-०४-१६ , समय : ०८:०४:३९ , शुभ नारायण यादब

तस्बिर : शुभ नारायण यादव / गामघर टिभि

शुभ नारायण यादब

काठमाण्डौ । आन्दोलनरत शिक्षकहरुकाे माग सम्बोधन गर्न सरकार तयार भएको छ । हिजो बेलुका बसेको मन्त्रिपरिषद् बैठकले यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।

नेपाल शिक्षक महासङ्घले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताउनुभयो ।

मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको उहाँले जानकारी दिनुभयो ।

महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको मन्त्री भट्टराईको भनाइ छ ।

विद्यार्थी भर्नाको समय तथा एसईईको उत्तरपुुस्तिका परीक्षण एवम् कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवम् विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ–आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।

मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउनेलगायतका निर्णय गरेको छ । यता राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकहरूको मागलाई वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले हिजो विज्ञप्ति जारी गरी शिक्षकको आन्दोलन लम्बिँदै गए एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको भन्दै वार्ताबाट समाधान खोज्न भनेको हो ।
शिक्षकसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुने भन्दै आयोगले आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय भएको उल्लेख विज्ञप्तिमा गरेको छ । विद्यालयहरू बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न हुने देखिएको आयोगको ठहर छ ।

प्रकाशित मिति: २०२५-०४-१६ , समय : ०८:०४:३९ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्